
काठमाडौं — एलोपेथिक औषधिहरूको एउटा न एउटा साइड इफेक्ट हुन्छ । कहिले त्यस्ता साइड इफेक्ट चिकित्सक र मेडिकल साइन्सका लागि चुनौतीपूर्ण हुन्छ ।
यस्तै एक घटना अमेरिकामा भएको छ । पच्पन्न वर्षीया एक महिलाको जिभ्रोमा रौं आएपछि चिकित्सकहरू नै छक्क परेका छन् ।
दुर्घटनापछि ती महिला सेन्ट लुइस अस्पताल पुगेकी थिइन् । त्यहाँ उनलाई घाउ निको पार्ने एउटा औषधि दिइयो जसको साइड इफेक्टस्वरूप उनको जिभ्रोमा रौं उम्रियो ।
वाशिङटनको सेन्ट लुइस अस्पतालका चिकित्सक भन्छन्, ‘दुर्घटनापछि महिलाको दुवै गोडामा गम्भीर चोट लागेको थियो । उनको घाउमा संक्रमण भएको थियो । उपचारका क्रममा ब्याक्टेरियासँग लड्नका लागि उनलाई मेरोपेनेम र
माइनोसाइक्लाइन नामक एन्टीबायोटिक औषधि दिइएको थियो ।’
औषधि खाएको एक हप्ताभित्र महिलाको जिभ्रोमा काला रौं पलाउन थाले । उनको मुखले स्वाद पनि नमीठो अनुभव गर्न थाल्यो । चिकित्सकहरूले जाँच्दा यो औषधिको साइड इफेक्टका कारण भएको पत्ता लाग्यो ।
चिकित्सकहरूका अनुसार यसलाई ब्ल्याक हेयरी टंग रोग भनिन्छ । यो अस्थायी समस्या हो र यसले कुनै हानि गर्दैन ।
महिलालाई एन्टीबायोटिक बन्द गराएर नयाँ औषधि सिफारिश गरिएको छ । उनलाई राम्ररी मुख र जिभ्रो सफा गर्न भनिएको छ । एक महिनाभित्र उनको जिभ्रो ठीक हुने सम्भावना छ ।
एजेन्सी