काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनबाट अपेक्षा गरिरहेको सकारात्मक पत्र पाएका छन् ।
पत्रमा किमले ट्रम्पलाई फेरि छिट्टै भेट्ने इच्छा व्यक्त गरेका छन् । ह्वाइट हाउसले सोमवार राष्ट्रपतिसमक्ष पुगेको जानकारी दिँदै किमसँग ट्रम्पको दोस्रो भेटघाटको कुरा चलिरहेको बताएको छ । ट्रम्पले शुक्रवार किमको सकारात्मक पत्रको आशा गरेका थिए ।
ह्वाइट हाउसकी प्रेस सचिव सारा स्यान्डर्सले बताइन्, ‘राष्ट्रपतिलाई किम जोङ–उनको पत्र आएको छ । यो एकदमै सकारात्मक पत्र हो । पत्रको सन्देशबाट उत्तर कोरिया प्रायद्वीपलाई आणविक हतियारबाट मुक्त राख्ने प्रतिबद्धतामा कायम रहेको देखिन्छ ।’
पत्रको प्राथमिक उद्देश्य राष्ट्रपतिसँग अर्को एक बैठक निर्धारण गर्नु रहेको उनले बताइन् । दुई नेताबीच दोस्रो बैठकका विषयमा पहिलेदेखि नै कुराकानी चलिरहेको तर यसमा कुनै निर्णय नलिइएको पनि उनले बताइन् ।
पत्रका बारेमा थप जानकारी सार्वजनिक गर्न स्यान्डर्सले अस्वीकार गरिन् ।
यसै वर्षको जुन १२ मा ट्रम्प र किमबीच सिंगापुरमा ऐतिहासिक वार्ता गरेका थिए र दुवैले सकारात्मक दृष्टिकोण देखाएका थिए ।
एजेन्सी