१४ असार २०८३, आइतबार

सवारी साधनमा सहुलियत कर्जा नपाइने

भदौ २६, २०७५
सवारी साधनमा सहुलियत कर्जा नपाइने

काठमाडौँ- अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले सवारी साधन खरिदका लागि भनेर सहुलियत कर्जा प्रवाह गर्न नसक्ने बताउनुभएको छ । 

नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको आयोजनामा भृकुटीमण्डपमा आजदेखि शुरु भएको ‘नाडा अटो सो’ तथा प्रदर्शनी शुभारम्भ गर्दै उहाँले सर्वसाधरणले आम्दानी गरेर सक्षम भएपछि मात्र सवारी साधन खरिद गर्नुपर्नेमा जोड दिनुभयो । 

देशमा नयाँ प्रकारका सवारी साधन आयात भइरहेको र धेरै सवारी साधन बिक्री हुँदा राजश्व सङ्कलनमा पनि वृद्धि हुने जानकारी दिँदै उहाँले भन्नुभयो, “सवारी साधन अहिले पनि विलासीे वस्तु हो, यसमा लाग्ने भन्सारका साथै अन्य कर छुट गर्न सकिँदैन, यसबाट प्राप्त हुने रकमले सडक, पूर्वाधार तथा सामाजिक विकासका परियोजना सञ्चालन गर्नुपर्छ ।” विद्युतीय सवारी साधन, ठूला सार्वजनिक सवारी साधनको आयात तथा कर भने छुट गर्न सकिने उहाँको भनाइ थियो । 

मन्त्री खतिवडाले सवारी साधनलाई आवश्यक पर्ने विभिन्न पार्टस् पूर्जा स्वदेशमै उत्पादन गर्ने गोरखकाली रबर उद्योगजस्ता संस्थालाई सहयोग र सहुलियत उपलब्ध गराइने बताउनुभयो । लगानीसम्बन्धी कानून निर्माण अन्तिम चरणमा रहेको बताउँदै उहाँले दुईतिहाइ राजश्व देशको आन्तरिक स्रोतबाट सङ्कलनबाट हुन सकेमा मात्र आयातित वस्तुमा कायम रहेको करमा केही कमी गर्न सकिने जानकारी दिनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले मुलुकको समृद्धिका लागि उत्पादनशील क्षेत्रमा लगानी गरी रोजगारको क्षेत्र वृद्धि गर्नुपर्ने बताउँदै त्यसका लागि सरकारले निजी क्षेत्रसँग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । सोही सङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले प्रत्येक वर्ष नयाँ ब्रान्डका दुईपाङ्ग्रे र चारपाङ्ग्रे ठूला सवारी साधन आयातले देशमा व्यापार घाटा बढ्दै गएकाले स्वदेशमा नै यसको उत्पादन हुनसक्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । 

नेपाल अटो मोबाइल्स डिलर्स सङ्घका सदस्य निराकार श्रेष्ठले यस क्षेत्रले मुलुकको राजश्वमा करीब १७ प्रतिशत योगदान पु¥याएकोे जानकारी दिँदै यसमा लाग्दै आएको २५६ प्रतिशत करमा पुनःविचार गर्नुपर्ने माग गर्नुभयो । 

यही भदौ ३१ गतेसम्म चल्ने प्रदर्शनीमा करीब ६० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्