१२ असार २०८३, शुक्रबार

नेपाली माओवादीको प्रेरणास्रोत शाइनिङ पाथका नेतालाई दोस्रोपटक आजीवन कारावास

नेपाली माओवादीको प्रेरणास्रोत शाइनिङ पाथका नेतालाई दोस्रोपटक आजीवन कारावास

काठमाडौं — नेपालमा माओवादीहरूले सशस्त्र युद्ध शुरू गर्दा पेरुको शाइनिङ पाथबाट प्रेरणा लिएका थिए । त्यही शाइनिङ पाथका नेता अबिमाएल गजम्यानलाई मंगलवार दोस्रो आजीवन कारावासको सजाय सुनाइएको छ ।

सन् १९९२ मा पेरुको राजधानी लिमामा भएको कारबम विस्फोटनमा २५ जनाको मृत्यु भएको थियो । त्यसमा दोषी पाइएका गजम्यान यसअघि नै आजीवन कारावासको सजाय काटिरहेका छन् । 

राष्ट्रिय फौजदारी अदालतलका तीन न्यायाधीशले ८३ वर्षीय गजम्यानविरुद्ध आजीवन कारावासको सजाय सुनाएका हुन् । सन् १९८० को दशकमा माओवादबाट उत्प्रेरित विद्रोहमा भाग लिएका गजम्यान र नौ अन्य नेतालाई आजीवन कारावासको सजाय सुनाइएको थियो । 

उक्त आक्रमणमा एक कारमा ५०० किलो विस्फोटक राखेर लिमाको मिराफ्लोरेस जिल्लामा रहेको साँघुरो सडकमा विस्फोट गराइएको थियो । त्यसक्रममा २५ जनाको मृत्यु भएको थियो भने सयजना घाइते भएका थिए । 

विस्फोटका कारण पसल, कार र घरहरू क्षतिग्रस्त भएका थिए । शाइनिङ पाथले राजधानीमा नागरिकलाई लक्षित गरी गराएको त्यो पहिलो विस्फोट थियो । 

गजम्यानले आजीवनको कारावास सजाय हास्यास्पद रहेको किनकि उक्त घटनामा आफ्नो संलग्नता नरहेको प्रतिक्रिया दिएका छन् । आफ्ना समर्थकले उक्त गल्ती गरेको उनको भनाइ छ । 

शाइनिङ पाथको शुरूआत हुँदा त्यसको लक्ष्य सरकार फालेर कम्युनिस्ट शासन शुरू गर्नु रहेको थियो । 

तर सन् १९९० मा अल्बर्टो फुजिमोरी राष्ट्रपति भएपछि उनले शाइनिङ पाथमाथि कडा दमन गरे । सन् १९९२ मा गजम्यान पक्राउ परेपछि गुरिल्लाहरूको गतिविधिमा ह्रास आयो । 

उक्त विद्रोहमा ७० हजार मानिसको ज्यान गएको थियो । 

अहिले शाइनिङ पाथ निष्क्रिय छ । केही विद्रोहीहरू जंगलमा लुकिरहेका छन् र आफ्नो अभियान सञ्चालनका लागि लागूऔषध तस्करहरूसँग मिलेर काम गरिरहेका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्