सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि जुम्लासम्म सिधा हवाई यातायात सेवा शुरु भएको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले समिट एयरको ९ एन एकेजेट कलसाइनको जहाज चढेर सो सेवाको बुधबार उद्घाटन गरे । उनीसंगै उक्त जहाजबाट १८ जनाले पनि सुर्खेतबाट जुम्लाको यात्रा गरे ।
साहित्य, कला, संस्कृति र भाषालगायत क्षेत्रमा प्रदेशकै लागि अत्यन्त महत्वपूर्ण मानिएको जुम्लाको राजधानी सुर्खेतसँग सहज पहुँच कायम गर्न सिधा हवाई सेवा शुरु गरिएको मन्त्री बुढाले बताए । सुर्खेत–जुम्ला सिधा हवाई भाडा दर रु तीन हजार ९६५ कायम गरिएको समिट एयर सुर्खेतका प्रबन्धक चन्द्रङ्ग शाहीले जानकारी दिए । प्रबन्धक शाहीकाअनुसार हप्ताको दुई दिन मङ्गलबार र शुक्रबार सुर्खेत–जुम्ला सिधा हवाई सेवाका लागि उडान गरिनेछ ।
जुम्लाको ऐतिहासिक पर्यटकीय सिञ्जा उपत्यका, गुठिचौर र तातोपानी गाविसको हाँकुमा पर्ने गिडी दहको अध्ययन अवलोकन गर्ने बताउँदै मन्त्री बुढाले सिञ्जाको सांस्कृतिक सम्पदा, ओझेलमा परेको गिडी दह र गुठिचौरको पर्यटन प्रवद्र्धन तथा संरक्षणका लागि विनियोजित बजेट र योजनामा सहजता ल्याउनका लागि आफूले त्यसको अवलोकन गरिने जानकारी गराए । मन्त्रालयले गुठिचौरको पर्यटन विकासका लागि रु एक करोड ५० लाख, सिञ्जा उपत्यकाको विकास गर्न रु एक करोड तथा गिडी दह पर्यटन सडक निर्माणका निम्ति रु ५५ लाख बजेट विनियोजन गरिएको जनाएको छ ।