काठमाडौं — अफ्रिकी मुलुक तान्जानियाका राष्ट्रपति जोन मागुफुलीले देशका महिलालाई बच्चाहरूको जन्ममा नियन्त्रणका लागि गर्भनिरोधक उपाय नअपनाउन सल्लाह दिएका छन् ।
राष्ट्रपतिका अनुसार, अल्छी महिलाले मात्र यस्ता उपाय अपनाउँछन् । ठूलो परिवार र बच्चाहरूको स्याहारमा ध्यान दिन नचाहने महिलाले मात्र यो उपाय गर्छन् ।
मागुफुलीले यसअघि पनि गर्भवती छात्राहरूलाई शिक्षामा प्रतिबन्ध लगाउनुपर्ने बताएर विवादमा आइसकेका छन् ।
एक –यालीलाई सम्बोधन गर्दै राष्ट्रपतिले गर्भनिरोधक चक्कीको प्रयोग गर्ने महिलाले अब त्यसलाई बन्द गर्नुपर्ने बताए ।
उनले भने, ‘मेहनत गर्न नचाहने व्यक्ति मात्र गर्भनिरोधक उपाय अपनाउँछन् र दुई बच्चामा सीमित रहन्छन् । म संसारका थुप्रै देश घुमिसकेको छु र गर्भनिरोधक उपाय अपनाउँदा हुने हानिबाट परिचित छु । यसले गर्दा केही देशमा
जनसंख्यामा कमी आएको छ । तपाईं धेरै पशु पाल्नुहुन्छ, धेरै खेत राख्नुहुन्छ । बच्चाहरूको स्याहार पनि त गर्न सक्नुहुन्छ नि, किन चाहियो परिवार नियोजन ?’
विपक्षीहरूले राष्ट्रपतिको यो भनाइ महिलाविरोधी भएको भन्दै विरोध गरेका छन् ।
एजेन्सी