११ असार २०८३, बिहीबार

अस्ट्रेलियामा राष्ट्रगान बजाउँदा नउठ्ने नौ वर्षीया बालिकामाथि खनिए नेतागण

अस्ट्रेलियामा राष्ट्रगान बजाउँदा नउठ्ने नौ वर्षीया बालिकामाथि खनिए नेतागण

काठमाडौं — अस्ट्रेलियाको एक विद्यालयमा नौ वर्षीया बालिकाले राष्ट्रगान बजेको बेलामा नउभिएकोमा नेतागणले असन्तुष्टि जनाएका छन् । नेताहरूले बालिकालाई विद्यालयबाट निकाल्न माग गरेका छन् । 

क्वीन्सल्यान्डमा बस्ने हार्पर नील्सन नामक ती बालिकाले राष्ट्रगानबाट देशका आदिवासीहरूको अपमान भएको हुनाले नउभिएको बताइन् । 

हार्परले एक समाचार च्यानललाई अन्तर्वार्ता दिँदै भनिन्, ‘अस्ट्रेलियाको राष्ट्रगानमा सबै अस्ट्रेलियालीले खुशी मनाउनुपर्ने किनकि हामी जवान र स्वतन्त्र छौं भनिएको छ । हामी जवान छौं भन्नाले साम्राज्यवादीको खोजपछि मात्र देश
बनेको हो भन्ने अर्थ लाग्छ । यसो भनिँदा हामी यहाँका आदिवासीहरूलाई बिर्सन्छौं जो ५० हजार वर्षपहिलेदेखि यस देशमा छन् ।’

अस्ट्रेलियामा जम्मा २ प्रतिशत आदिवासी छन् । 

दक्षिणपन्थी सिनेटर पोलिन हेन्सन भन्छिन्, ‘अस्ट्रेलियाका विद्यालयले बच्चाहरूको ब्रेनवाश गरिरहेका छन् । हार्परलाई विद्यालयबाट बाहिर निकाल्नुपर्छ । बालिका गलत बाटोमा छिन् र यस्तो सोच राख्नमा उनका आमाबुवा दोषी छन् ।
राष्ट्रगानप्रति देशवासीमा गर्व हुनुपर्छ र हामी सबै यस देशका अंग हौं ।’

अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री टोनी एबटले सबैजनाबाट नियम पालन हुनुपर्ने बताए । राष्ट्रगान देशसँग जोडिएको कुरा हुनाले सबैले त्यसको सम्मान गर्नुपर्ने उनको भनाइ छ । 

क्वीन्सल्यान्डका लिबरल नेता ज्यारेड ब्लिजीले भने, ‘बालिकाका मातापितालाई आफूले सिकाएको कुरामा लाज लाग्नुपर्ने हो ।’

हार्परका पिताले भने आफ्नी छोरी बहादुर भएको बताए । 

राष्ट्रगान बज्दा नउभिएकोमा विद्यालयले निकाल्ने ननिकाल्ने विषयमा केही नभनेको क्वीन्सल्यान्डको शिक्षा विभागले जनाएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्