०६ साउन २०८३, बुधबार

चिनियाँ कम्पनीले महानगरलाई बुझायो प्रतिवेदन– चक्रपथमा मोनोरेल चलाउन एक खर्ब १६ अर्ब लाग्ने

चिनियाँ कम्पनीले महानगरलाई बुझायो प्रतिवेदन– चक्रपथमा मोनोरेल चलाउन एक खर्ब १६ अर्ब लाग्ने

काठमाडौं– काठमाडौँमा मोनोरेल निर्माणको सम्भाव्यता गरेको चिनियाँ टोलीले काठमाडौं महानगरपालिकालाई प्रतिवेदन बुझाएको छ । 

गत जेठ ११ गते ६ महिना भित्र प्रारम्भीक प्रतिवेदन बुझाउने भन्दै चाइनाको चाइना रेलवे २५ औँ व्यूरो गु्रप कम्पनी लिमिटेड (सिआरसीसी) कम्पनीले काठमाडौँ र ललितपुर महानगरपालिकासँग काठमाडौँको चक्रपथमा मोनोरेलको सम्भाव्यता अध्ययन गर्न सहमति गरेको थियो । 

सम्झौत गरेको चार महिना पनि नपुग्दै सिआरसीसीले आज सोको प्रतिवेदन बुझाएको हो । 

चक्रपथमा मोनोरेल निर्माणका लागि करिब एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनसहितको प्रतिवेदन सो कम्पनीले दुबै महानगरपालिकाका मेयरलाई हस्तान्तरण गरेको हो । 

प्रतिवेदनमा मोनोरेलका लागि प्राविधिक, भौगोलिक, आर्थिक, वातावरणीय सबैको सम्भाव्यताको समेत अध्ययन गरेको बताइएको छ ।

कम्पनीले सबै हिसावले चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख गरेको छ । 

चिनिया कम्पनीले दुबै महानगरपालिकाले निर्माणका लागि सहमति दिए आफूहरु डीपीआरका लागि तयार रहेको पनि जानकारी दिएको छ । 

सो कम्पनीका इण्टरनेशनल म्यानेजर झावो सिवावोले पनि आफूहरु चक्रपथमा मोनोरेल निर्माणका लागि इच्छुक देखिएको जानकारी दिए । 

उनले जतिसक्दो छिटो निर्णय दिए आफूहरुले डीपीआर सुरु गर्ने पनि जानकारी दिए । 

प्रतिवेदन ग्रहण गरेपछि काठमाडौँका मेयर शाक्यले आफ्नै कार्यकालमा काठमाडौँवासीको मोनोरेल चढ्ने सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै चिनिया कम्पनीले सम्झौता गरेको समयसीमा भित्रै प्रतिवेदन बुझाएकोमा खुशी व्यक्त गरे ।

 ‘यो प्रतिवेदनको दुबै महानगरपालिका मिलेर प्राविधिक अध्ययन गर्नेछौँ,’ काठमाडौँका मेयर शाक्यले भने, ‘हामीले उचित ठान्यौँ भने केन्द्र र प्रदेश सरकारसँग पनि कुराकानी गरेर काम अघि बढाउने छौँ ।’ 

‘हामीले मोनोरेल चढेर विदा हुन्छौँ भनेको छौँ,’ मेयर शाक्यले भने, ‘तपाईँहरुले एकै चरणमा काम गर्न नसक्ने अवस्था आयो भने बरु दुई–तीन चरणमा भए पनि काम गर्न सक्ने सम्भावना हुन्छ । हामी छिमेकी नगरपालिकासँग पनि यो विषयमा छलफल गछौँ ।’ 

सिआरसीसीले पनि पहिलो चरणमा कोटेश्वरलेखि कलंकीसम्म, दोस्रो चरणमा कलंकीदेखि चक्रपथसम्म र तेस्रो चरणमा चक्रपथदेखि कोटेश्वरसम्म निर्माण गर्न सकिने बताएको छ । 

सिआरसीसीले डीपीआर सुरु गरेको ६ महिना भित्र प्रतिवेशन बुझाउने र काम कम सुरु गरेको तीन वर्ष भित्रमा सम्पन्न गर्ने पनि जानकारी दिएको छ । कुल २७ दशमलब ५ किलोमिटरको चक्रपथमा सो कम्पनीले करिब २१ स्थानबाट यात्रु चढाउने र ओराल्ने स्टेशन बनाउने पनि प्रतिवेशनमा उल्लेख गरेको छ । 

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबू महर्जनले पनि चिनिया कम्पनीसँग काम गर्न आफूहरु इच्छुक रहेको बताए । 
 

कमेन्ट गर्नुहोस्