
काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रहरी हिरासतमै मृत्यु भएका राममनोहर यादवको मृत्यु सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गरेको छ ।
हत्याको वास्तविकता बुझ्न संसदीय समिति गठन नगरिए सदन अवरुद्ध गर्ने उसको चेतावनी छ ।
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई बर्दियामा कालो झण्डा देखाउने क्रममा पक्राउ परेका राममनोहरको प्रहरी हिरासतमै मृत्यु भएको थियो ।
प्रतिनिधिसभाको शुक्रवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर बोलेका राजपा सांसद लक्ष्मणलाल कर्णले प्रहरी हिसासतमा नागरिकको मृत्यु हुनु अत्यन्त गम्भीर विषय भएको बताए ।
‘कालो झण्डा देखाउने कार्य विरोधको सबैभन्दा शान्तिपूर्ण प्रक्रिया हो । कालो झण्डा नदेखाएर लाठी र भाला देखाउनु त !' कर्णले संसदमा भने– 'कालो झण्डा देखाउँदा प्रहरी हिरासतमा लियो । हिरासतमा मानसिक र शारिरीक यातना दिँदा राममनोहरको मृत्यु भयो ।’
‘प्रहरी हिरासतमा बस्दा व्यक्तिको मृत्यु हुन्छ भने के कारणले मृत्यु भयो ? यसबारे प्रशासनले जानकारी दिनुपर्दैन ? यसप्रकारको मानव अधिकार हनन हुन्छ भने यो संसदको औचित्य छैन । संसद चल्न दिँदैनौं । जाँचबुझ होस् । संसदीय समिति गठन होस्,’ कर्णले थपे ।
भदौ ७ गते बर्दियाबाट प्रहरीले नियन्त्रणमा लिएका राममनोहरको प्रहरी यातनाबाटै मृत्यु भएको दाबी गर्दै उनले यसको निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने बताए ।
शुक्रवार नै राष्ट्रियसभा बैठकमा सांसद प्रमिला कुमारी र वृषेशचन्द्र लालले राममनोहरको मृत्यु सम्बन्धमा छानविनको लागि माग गरेका थिए ।
‘कालो झण्डा देखाएको आरोपमा पक्राउ परेको भन्ने गृहमन्त्रीको तर्कसँग सहमत छैन । हिरासतमा यातना दिई हत्या गरिएको हो । मधेसी दाजुभाइको हत्या गर्नु अपराध हो । संसदीय छानबिन समिति बनाएर छानबिन गर्न माग गर्छु,’ सांसद प्रमिला कुमारीले माग गरिन् ।
सांसद लालले संविधानप्रति असहमति जनाउने, शान्तिपूर्वक विरोध गर्ने अधिकार नेपालको नागिरिकसँग छ कि छैन ? भनेर सरकारको जवाफ माग गरे ।
‘प्रहरी हिरासतमा गइसकेपछि उसको सुरक्षा नेपाल सरकारको छ कि छैन ?’ लालले प्रश्न गरे ।
गृहमन्त्री थापाले प्रतिनिधिसभाको बैठकमा कञ्चनपुरमा निर्मला पन्तको हत्याको छानबिन तथा यादवको हत्या सम्बन्धमा जानकारी दिने कार्यक्रम छ ।