
काठमाडौं — अस्ट्रेलियाको एडलेडस्थित आर्ट ग्यालरी अफ साउथ अस्ट्रेलियामा भेटिएको ५०० वर्ष पुरानो नटराज भगवान् शिवको मूर्ति चोरी भएको पत्ता लागेको छ ।
आर्ट ग्यालरीले यसको पुष्टि गरेको छ । नटराजको मूर्तिलाई भारत फर्काइने सम्भावना छ । अस्ट्रेलियाको च्यानल एबीसीका अनुसार, नटराजको यो मूर्ति १६ औं शताब्दीको हो । सन् १९७० को दशकमा तमिलनाडुको नेल्लईस्थित एक मन्दिरबाट चोरी भएको थियो ।
नेल्लईको मन्दिरबाट नटराज समेत चार मूर्ति चोरी भएका थिए । चोरहरूले मन्दिरको ताल्चा फोडेर घटना गराएका थिए ।
आर्ट ग्यालरीको भनाइ छ, ‘हामी मूर्तिको बारेमा अनुसन्धान गरिरहेका थियौं । त्यसै बीचमा एसियाली आर्ट क्युरेटरले सन् २०१६ को सेप्टेम्बरमा नटराजको मूर्ति चोरीको सामान भएको बताएका थिए । भारतीय र अस्ट्रेलियाली
अधिकारीबीच कुराकानी भइसकेको छ । हामीहरूले कागजात सुम्पिसकेका छौं । तीन दिनभित्र हामी मूर्ति फिर्ता गर्नेछौं ।’
आर्ट ग्यालरीले सन् २००१ मा ७६ सेन्टीमिटर अग्लो नटराजको मूर्ति तीन लाख ३० हजार डलरमा किनेको थियो । मूर्तिलाई बेलायती दलालहरूमार्फत एक युरोपेली व्यक्तिबाट किनिएको थियो ।
आर्ट ग्यालरीका तत्कालीन निर्देशक रोन रेडफोर्डलाई दलालहरूले मूर्ति चोरीको माल नभएको बताएका थिए । दलालले मूर्तिको मालिकको बारेमा थाहा नभएको बताएका थिए ।
अस्ट्रेलियामा यसअघि पनि भारतबाट चोरेर लगिएका मूर्तिहरू पाइएका थिए ।
एजेन्सी