
बागलुङ– बागलुङको वडिगाड गाउँपालिका ७ मा पहिरो जाँदा बढिघाट खोला थुनिएको छ । गएराति ११ बजे गएको पहिरोले खोला थुनिदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । वडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानाको तुरतुरै डाँडा खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको हाे ।



खोला थुनिएर ताल बनेको र अहिले पानी बग्ने क्रम शुरु भएको घटनास्थलमा रहेका एसपी दिपक रेग्मीले लोकान्तरलाई बताए । खोला थुनिदा दुई किलोमिटरसम्म पानीको ताल बनेको छ । अहिले पानी ओभरफ्लो भएर बग्न थालेकाले भर्खरै फुट्ने सम्भावना कम छ ।

खोला थुनिएपछि बागलुङका खार र खर्बाङ्ग बजार तथा गुल्मीको मुसिकोट नगरपालिकाका वामी, भुवाचिदी, आँपचौर, बडागाउँको ग्वादीकाचौर, चन्द्रकोट गाउँपालिकाको मजुवा बजार, सत्यवति गाउँपालिकाको जोहाङ्ग खैरेनी, चोरकाटे बजार र रुद्रवेणी बजारबासीहरु त्रसित छन् । तर, ताल बनेको खालो एकैपटक फुट्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।
खोला थुनिदा स्थानीय टुडाबहादुर कुमारका तीन गोरु डुबेका छन् । अन्य कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ । नेपाली सेना र प्रहरी राती नै घटना स्थल पुगेको थियो ।





तस्बिर : पत्रकार छविलाल पाण्डेको फेसबुकबाट