
धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाको भौतिक र वित्तीय प्रगति विवरण अब मोबाइलमार्फत् हेर्न र लागेको गुनासो राख्न पाइने भएको छ ।
उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको अनलाइन पूर्वाधार व्यवस्थापन प्रणाली ims.susasan.org/dhangadhi लगअन गरेर अथवा मोबाइल एप्सबाट हेर्न सकिने भएको हो । योङ इनोभेन्स र धनगढी उपमहानगरपालिकाको सहकार्यमा करीब १७ लाख रुपैयाँको लागतमा सो प्रणाली शुरूवात गरिएको छ । शनिबार एक कार्यक्रमबीच ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् ।
योङ इनोभेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विभुषण विष्टले भौतिक विकासलाई प्रविधिसँग जोडेर आईएमएस प्रणालीको विकास भएको बताए । जुन प्रणालीमार्फत् धनगढी उपमहानगरपालिकाको सबै वडाको भौतिक पूर्वाधार विकास र वित्तीय प्रगति विवरण हेर्न सकिने छ । बजेट छनौट प्रक्रियादेखि नै सो प्रणालीमा इन्ट्री गरिने हुँदा वडा स्तरको बजेट कार्यक्रम, भौतिक प्रगति विवरण देखाउने गर्दछ । यतिमात्रै नभई सम्बन्धित सरोकारवाला निकायले ‘जीपीएस लोकेसन’ सहित अनुगमन गर्न सकिने बिष्टले बताए ।
नगरपालिकामा नगर प्रमुखको संयोजकत्वमा संयन्त्र गठन भएको हुँदा भौतिक पूर्वाधार विकासको गुणस्तरबारे सम्बन्धित सरोकारवाला निकायलाई आमउपभोक्ताले अनलाइन तथा मोबाइल एप्समार्फत् नै गुनासो गर्न सकिने सीइओ बिष्टको भनाई छ । नेपालमै पहिलो पटक शुरूवात गरिएको यो प्रविधिले पूर्वाधार सम्बन्धी सम्पूर्ण तथ्यांक संकलन गर्ने हुँदा सुशासनलाई समेत प्रवद्र्धन गर्ने दाबी गरिएको छ ।
कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्टले विकासलाई प्रविधिसँग जोड्नुपर्ने आजको आवश्यकता भएको बताए । प्रविधिलाई नेपालले पुछ्याउन नसक्दा विकास निर्माणको आयोजनामा पारदर्शिता, गुणस्तरलगायत सवालमा प्रश्न चिह्न उठ्दै आएकोले प्रविधिलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए । जसको लागि राज्यको सबै निकायदेखि लिएर आमनागरिकले समेत प्रविधिबारे सूसुचित हुनुपर्ने मुख्यमन्त्री भट्टको भनाई थियो ।