काठमाडौं — दक्षिण कोरियाका ९३ अधिकारीहरूको समूह आइतवार उत्तर कोरिया पुगेको छ ।
दक्षिण कोरियाका राष्ट्रपति मून जे–इन र उत्तर कोरियाका नेता किम जोङ–उनबीच आगामी बैठकको तयारीका लागि अधिकारीहरूको यो भ्रमण भएको हो ।
समाचार संस्था योन्हापका अनुसार, राष्ट्रपति मून मंगलवारदेखि बिहीवार प्योङयाङ यात्रामा रहनेछन् । किमसँग यो उनको तेस्रो वार्ता हुनेछ ।
दक्षिण कोरियाका अधिकारीहरूको टोली १९ बस चढेर सीमापारि गएका थिए । टोलीमा प्रविधिसँग सम्बन्धित कर्मचारी र संवाददाताहरू पनि छन् ।
सउलको एकीकरण नीतिका लागि राष्ट्रपतिका सचिव सुह होले बस चढ्नुअघि संवाददाताहरूसँग कुरा गर्दै भने, ‘उत्तर र दक्षिण कोरियाबीच वार्ताका लागि जम्मा दुई दिन बाँकी छ । हाम्रो टोली त्यहाँ गएर तयारीको बारेमा बुझ्नेछ ।’
आगामी बैठकका सम्बन्धमा कोरियाली प्रायद्वीपमा उत्साह छ ।
एजेन्सी