
काठमाडौं— प्रतिनिधि सभा अन्तर्गतका समितिको सभापति चयनका लागि आगामी शुक्रवार निर्वाचन हुने भएको छ । यसअघि अनिश्चित कालका लागि स्थगित निर्वाचन प्रक्रिया शुरु हुन लागेको हो ।
प्रतिनिधि सभाको सोमवार बस्ने बैठकमा सभापति निर्वाचनको मिति घोषणाको तयारी रहेको सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।
संसदीय समितिको सभापतिको भागवण्डा नमिल्दा सभापति चयन हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक चौथाइ समितिको सभापति दाबी गरेका कारण सहमति हुन सकेको छैन । दलहरुबीच समितिको भागवण्डामा अझै सहमति भएको छैन ।
राष्ट्रिय सभामा नेपाली कांग्रेसले एउटा समितिको सभापति पाएको थियो । सभापति चयन हुन नसक्दा जेष्ठ सदस्यले समितिको सभापतित्व गरिरहेका छन् ।
प्रतिनिधि सभामा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून न्याय तथा मानव अधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा समिति गरी १० वटा विषयगत समिति छन् ।
प्रमुख सत्तारुढ दल नेकपाले सार्वजनिक लेखा समिति मात्र नेपाली कांग्रेसलाई दिन सकिने बताएको छ । संसदको सार्वजनिक लेखा समिति प्रतिपक्षी दललाई दिने संसदीय परंपरा रहेको छ ।
यसअघि भदौ १७ का लागि तय गरिएको सभापतिको निर्वाचन तालिका भदौ १५ गते स्थगित गरिएको थियो । त्यसअघि भदौ ५ गते हुने भनिएको समिति सभापतिको निर्वाचन भदौ १७ गते सम्मका लागि स्थगित भएको थियो ।
प्रतिनिधि सभाको साउन १७ गते बसेको बैठकले समितिमा रहने सदस्यको नाम टुंगो लगाएको थियो ।