०७ असार २०८३, आइतबार

निगममा नियुक्ति पाएका खरेलले सम्हाले जिम्मेवारी, कंसाकारलाई अप्ठ्यारो

निगममा नियुक्ति पाएका खरेलले सम्हाले जिम्मेवारी, कंसाकारलाई अप्ठ्यारो

काठमाडौँ– नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आज साँझ पदभार ग्रहण गरेका छन् । 
 निगमको कार्यालय नयाँ सडक पुगेर उनले पदभार ग्रहण गरेका हुन् । 
अध्यक्ष खरेललाई निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले स्वागत गरेका थिए । यद्यपी सरकारले कंसाकारलाई भूमिकाविहिन गराउने गरी खरेललाई कार्यकारी अध्यक्षमा आइतबार नियुक्र गरेको थियो । कंसाकार जहाज खरिद प्रकरणमा मुछिएका छन्  भने पछिल्लो समय हटाउन चाहेपनि कानुनी झमेला हुने हुँदा सरकारले  उनीमाथि दवाव बढाउन खरेललाई कार्यकारीको जिम्मेवारी दिएको बताइन्छ । 

पदभारपछि अध्यक्ष खरेलले निगमलाई थप व्यावसायिक बनाउन आफूले सबैसँग मिलेर काम गर्ने बताए । उनले हरेक विषयमा समेत विवाद गर्ने प्रवृत्तिबाट मुक्त भएर निगमलाई थप भरपर्दो बनाउन प्रयत्नशील रहने विश्वास व्यक्त गरे । 

निगमले गत असार र साउनमा ल्याएको दुईवटा ‘वाइडबडी’ जहाजको कुशल सञ्चालन र थप जहाज खरीदको प्रक्रिया अगाडि बढाएको छ । दुर्गम क्षेत्रमा हवाई सेवा पु¥याउने दायित्वसमेत निगमको नै रहेको सन्दर्भमा थप व्यावसायिक कार्ययोजनाका साथ निगमका सम्पूर्ण कर्मचारीसँग मिलेर काम गर्ने आफ्नो योजना रहेको अध्यक्ष खरेलको भनाइ छ । 

अध्यक्ष खरेललाई निगमका कर्मचारीले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । महाप्रबन्धक कंसाकारले निगमलाई थप प्रभावकारी र व्यावसायिक बनाउन सबैको साथ र सहयोग जरुरी रहेको बताए । 
सरकारले पर्यटन प्रवद्र्धनलाई प्रमुख प्राथमिकतामा राखेकाले त्यसैलाई केन्द्रविन्दुमा राखेर काम गर्ने जानकारी दिँदै महाप्रबन्धक कंसाकारले सेवा विस्तारका लागि समेत थप लगानी गरिने उल्लेख गरे ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले अध्यक्ष खरेल, महाप्रबन्धक कंसाकार तथा निगमका कर्मचारीलाई समन्वयात्मक तवरले काम गर्न निर्देशन दिएका छन् । 
उनले सरकारको चाहना र मुलुकको आवश्यकतालाई ख्याल गरेर व्यावसायिक कार्ययोजनाका साथ काम गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । 
 

कमेन्ट गर्नुहोस्