
काठमाडौं — यमनको अल खौखा क्षेत्रमा रहेको रातो सागरको बन्दरगाहमा मंगलवार आक्रमण हुँदा १८ माझी मारिएका छन् ।
माझीका परिवारहरूले दिएको जानकारीअनुसार, युद्धपोतबाट गरिएको आक्रमणका कारण माझीहरूको डुंगामा रहेका एकजना मात्र बाँच्न सफल भएका थिए ।
साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले यमनमा निरन्तर आक्रमण गरिरहेको छ । तर माझीमाथिको आक्रमण आफूले नगरेको उसको भनाइ छ ।
गठबन्धनका प्रवक्ता कर्नेल तुर्की अल–मलिकीले एक बयान जारी गर्दै भने, ‘गठबन्धनको जलसेनाले बन्दरगाहमा माछा पक्रिने डुंगालाई लक्षित गरी आक्रमण गरेको हल्ला निराधार छ ।’
उनले हाउती विद्रोहीहरूले यस्तो आक्रमण गरेको आरोप लगाए ।
एजेन्सी