०३ साउन २०८३, आइतबार

नेपाली चलचित्रका चार स्टार जो दमदार कमब्याकपछि पुनः गुमनाम बने

नेपाली चलचित्रका चार स्टार जो दमदार कमब्याकपछि पुनः गुमनाम बने

काठमाडौं – चलचित्र क्षेत्र एउटा यस्तो क्षेत्र हो जहाँ चम्किन र गुमनाम हुन समय लाग्दैन । एक वर्ष राम्रोसँग चलेका नायक/नायिका अर्कोवर्ष गुमनाम बन्न पुग्छन् ।

केहीले काम पाउँदापाउँदै पनि गर्दैनन् भने केहीले काम नै पाउँदैनन् । नेपाली चलचित्रका केही चर्चित नायक केही वर्ष चलचित्र क्षेत्रबाट गुमनाम बने ।

कोही नेपाली चलचित्र छाडेर भोजपुरीतिर लागे भने कोही अमेरिका पुगेर गुमनाम बने । बाँकीले काम नै पाएनन् ।

हामी यहाँ केही चर्चित नायकको चर्चा गर्नेछौं, जो केही वर्षको अन्तरालपछि चलचित्रमा दमदार कमब्याक गरेर फेरि गुमनाम बने ।

उनीहरूको कमब्याकले चलचित्र नगरीमा राम्रै चर्चा पायो, तर त्यो चर्चा विस्तारै सेलायो । अन्नतः ती नायक फेरि गुमनाम बनेका छन् ।

राजेश हमालः

महानायक राजेश हमाल विवाहपछि चलचित्र क्षेत्रबाट टाढा रहे । त्यसबीचमा उनको हातमा छिटफूट चलचित्र त आए, तर चलेनन् । केही वर्षको ग्यापमा झण्डै ३ वर्षअघि राजेशको कमब्याक भन्दै उनी चलचित्र ‘वाग्मती’मार्फत् दर्शकमाझ आए । त्यतिबेला उनको चर्चा खुबै भयो ।

मुहुर्त, छायांकन र प्रदर्शनको दिनसम्म चलचित्रले राम्रै चर्चा पायो, साथमा महानायक हमालले पनि । तर चलचित्रलाई दर्शकले रुचाएनन् । त्यसपश्चात उनले अर्को एक चलचित्रमा अभिनय गरे ।

ʻशकुन्तलाʼ चलचित्रले पनि हावा खाएपछि राजेश त्यसपछि अन्य चलचित्रमा देखिएका छैनन् । ʻशकुन्तलाʼ निर्देशक दिनेश श्रेष्ठको नयाँ चलचित्रमा राजेशले काम गर्ने कुरा सञ्चार माध्यममा आएपनि चलचित्र छायाङ्कन अहिलेसम्म पनि शुरू हुन सकेका छैन । अहिले राजेशको हातमा कुनैपनि चलचित्र छैनन् ।

निखिल उप्रेतीः

नायक निखिल उप्रेती झण्डै पाँच वर्षको ग्यापपछि आफ्नै निर्माण र निर्देशनमा चलचित्र ʻभैरवʼमार्फत् कमब्याक गरे । निखिलको कमब्याकले पनि सिने नगरीमा राम्रै चर्चा पायो । चलचित्र रुचाइयो अनि चल्यो पनि ।

त्यसपश्चात उनी एकपछि अर्को चलचित्रमा व्यस्त बन्दै गए । चलचित्रमा जम्दाजम्दै मुम्बई हानिएका निखिलको कमब्याकपछिको अर्को चलचित्र ʻलुटेुराʼसम्म उनको क्रेज घटेन । त्यसपछि पनि उनका केही चलचित्र त आए, तर दुर्भाग्य ती चलचित्र आउने/जाने मात्र भए । दर्शकले रुचाइदिएनन् । उनको पछिल्लो चलचित्र ʻपिंजडा ब्याक अगेनʼ हो । जुन चलचित्र गत वर्ष प्रदर्शनमा आएको थियो ।

अहिले उनको हातमा कुनै चलचित्र छैन । आफैँले २ वर्षअघि आफैंले ‘कमिटमेन्ट ६० आवर्स’को काम शुरू गरे । सो चलचित्र पनि अहिले विवादका कारण बीचमै रोकिएको छ । अहिले नायक निखिल राम्रो चलचित्रको प्रतिक्षामा छन् ।

विराज भट्टः 

नायक विराज भट्टको कमब्याकले पनि राम्रै चर्चा पायो । नेपाली चलचित्रमा जम्दै गर्दा भोजपुरी चलचित्रमा प्रवेश गरेका विराजले झण्डै पाँच वर्षपछि ढाइ वर्षअघि ʻजय पर्शुरामʼमार्फत् नेपाली चलचित्रमा कमब्याक गरेका थिए । उनको कमब्याकले कुनै जादु छर्न सकेन् । चलचित्र असफल भइदियो । चलचित्र नचलेसँगै विराज अहिले नेपाली चलचित्रबाट टाढा छन् ।

रमेश उप्रेतीः

नायक रमेश उप्रेती ९ वर्षको अन्तरालपछि चलचित्र ‘ब्रासलेट’मार्फत् पर्दामा कमब्याक गरे । उनको कमब्याकले पनि चलचित्र क्षेत्रमा राम्रै तरंग ल्याइदियो ।

त्यो तरंग केही समयसम्म सेलाएन, कारण उनी आफैंले चलचित्र निर्माण गरे, ऐश्वर्य । चलचित्रले प्रदर्शनअघि जति चर्चा पायो, प्रदर्शनपछि दर्शकले पनि उत्तिकै मन पराए । चलचित्र सफल भएसँगै अड्कलबाजी भयो, अब रमेशको व्यस्तता बढ्छ भनेर । तर दुर्भाग्य नै भन्नुपर्छ, त्यस किसिमको अड्कलबाजीले फेल खायो ।

उनको हातमा अन्य चलचित्र आएनन्, जसका कारण ‘ऐश्वर्य’ प्रदर्शनमा आएको एकवर्ष भइसक्दा पनि रमेश अन्य चलचित्रमा देखिएका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्