
काठमाडौँ– बडादशैं, तिहारलगायत चाडबाडको मुखमा हुन सक्ने चोरी नियन्त्रण गर्न सुरक्षासम्बन्धी विभिन्न उपाय अपनाउनका लागि वडावासीलाई सचेत गराउन प्रहरीले आजदेखि जनचेतनामूलक पदयात्रा शुरु गरेको छ ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर, सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी सेवा केन्द्र वडा नं १०, ३१ र ३२ को पहलमा आयोजित सो पदयात्राको महानगरीय प्रहरी परिसर काठमाडौंँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार लामाले उद्घाटन गरेका थिए ।
नयाँबानेश्वर चोक सङ्घीय संसद् भवन अगाडिबाट शुरु भएको पदयात्रा रत्नराज्यलक्ष्मी मावि मध्यबानेश्वरसम्म पुगेर समापन भएको थियो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले जनतालाई सुरक्षित राख्नु नेपाल प्रहरीको दायित्व भएको उल्लेख गर्दै चाडबाडका बेला चोरी, डकैती र अन्य अपराधका घटना बढ्ने हुनाले दशैंँ आउनु अगावै वडावासीलाई सुरक्षित राख्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको बताए ।