१० असार २०८३, बुधबार

दशैंका गीतमा परदेशीको पीडा : बजारमा आए नारायण, प्रमोद, पशुपतिदेखि विष्णु माझीका गीत

दशैंका गीतमा परदेशीको पीडा : बजारमा आए नारायण, प्रमोद, पशुपतिदेखि विष्णु माझीका गीत

सुशिल नेपाल
काठमाडौं – घरपरिवार छाडेर वैदेशिक रोजगारीमा गएका व्यक्ति दशैंमा घर जान नपाउँदा टेलिफोनमार्फत् जीवन संगिनीसँग पीडा पोख्दैछ । स्वदेशमा पत्नी जीवनसंगीलाई दशैंमा जसरी पनि घर आउन आग्रह गर्दैछिन् ।

बुढा बाबुआमा दशैंमा छोरो घर आउने आशामा कुरेर बस्दैछन् । छोराले पनि यस पटकको दशैंमा घर जान नपाएपनि अर्को दशैंमा धन बोकेर आफ्नी आमाको हातबाट टीका लगाउने भन्दै आमालाई नरुन आग्रह गर्छ ।

दशैंका गीत मुख्यतः यस्तै–यस्तै सन्देश बोकेका हुन्छन् । हरेक वर्ष दशैंतिहार नजिकिँदै गर्दा सांस्कृतिक दृश्य र भाव बोकेका दशैं गीत टेलिभिजन र यूट्युबमा देख्न र सुन्न पाइन्छन् । यस वर्ष पनि यस्ता गीत टेलिभिजन, रेडियोमा गुञ्जिन थालिसकिएका छन् । रेडियो टेलिभिजनमा गीत बज्न थालेसँगै दशैं आएको आभास हुन थालिसकेको छ ।

यूट्युबमा हेर्ने हो भने यस वर्ष ५ दर्जन बढी दशैंका गीत सार्वजनिक भइसकेका छन् । दशैं नजिकिँदै गएसँगै गायकगायिकाले दशैं विशेष गीत यूट्युबमा सार्वजनिक गर्न थालेका हुन् । हिजोआज यूट्युबमा दिनहुँ २–३ वटा दशैं गीतका भिडियो सार्वजनिक भइरहेका छन् ।

यस वर्ष कुन गायकगायिकाले कस्ता–कस्ता दशैं गीत ल्याए ? सार्वजनिक भएका गीतमध्ये केही गीत प्रस्तुत गरिएको छ ।

नारायण रायमाझीको ‘फर्की चाँडै आऊ दाजु घर’

अग्रज गायक नारायण रायमाझीले ‘फर्की चाँडै आऊ दाजु घर’ बोलको मौलिक दशैं गीत बजारमा ल्याएका छन् । नारायण रायमाझी र शान्तिश्री परियारको स्वर रहेको गीतले यूट्युबमा ७ लाखभन्दा बढी दर्शक कमाइसकेको छ ।

विष्णु माझी र ऋषि खडकाको ‘ए परदेशी’

विष्णु माझी र ऋषि खड्काको स्वरमा बजारमा आएको दशैं गीत ‘ए परदेशी’लाई स्रोता तथा दर्शकले रुचाएका छन् । गीतले यूट्युबमा राम्रो दर्शक पनि पाएको छ । 
सुनिल लामिछानेको शब्द र ऋषि खड्काको संगीतमा रहेको गीतको भिडियोमा सगुन शाही, सुनिल लामिछाने, राजु सोडारी, सजिना सापकोटाको अभिनय छ । भिडियोलाई काजिष श्रेष्ठले निर्देशन गरेका हुन् ।

राजु परियारको ‘यो दशैंमा आउँदैछु म घर’

लोकप्रिय गायक राजु परियार र जमुना रानाको स्वर रहेको ‘यो दशैंमा आउँदैछु म घर’ बोलको दशैं गीत १० दिनअघि नै सार्वजनिक भएको छ । महेन्द्र केसीको शब्द, भीम केसीको लय रहेको गीतको भिडियोमा स्मृति तिमिल्सिना र सरोज लामा लगायतले अभिनय गरेका छन् । भिडियोको निर्देशन पनि स्मृतिले नै गरेकी छिन् ।  

प्रमोद खरेलले गाए ‘दशैं आयो तिहार आयो’

लोकप्रिय गायक प्रमोद खरेलले पनि यस वर्ष दशैंतिहारको गीत गाएका छन् । उनको स्वरमा ‘दशैं आयो तिहार आयो’ बोलको एकल गीत सार्वजनिक भएको छ । ऋषि खड्काको शब्द, संगीतमा यो गीत बजारमा आएको छ ।
कपिल लामा निर्देशित भिडियोमा विपेश घिमिरे र आशा खड्काले अभिनय गरेका छन् । सुरेश श्रेष्ठले छायांकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन् ।

पशुपति शर्माको ‘लाहुरेनीलाई कोसेली ...’

गायक पशुपति शर्माको आफ्नै शब्द, संगीत तथा स्वरमा ‘लाहुरेनीलाई कोसेली...’ बोलको दशैं गीत सार्वजनिक भएको छ । गीतमा महिला आवाज देवी घर्तीको छ । गीतको भिडियोमा पनि गायकगायिका स्वयम् नै देखिएका छन् ।
चाडपर्वको समयमा लाहुरे कोसेली बोकेर घर फर्किंदा लाहुरेनी परिवारमा छाउने खुशी व्यक्त गरिएको छ । गायक पशुपति पछिल्लो केही वर्षयता आफ्ना प्रायः गीतमा आफैं देखिँदै आएका छन् । 

कस्तुप पन्तको ‘दशैंको जमरा’

गायक तथा सर्जक कस्तुप पन्तले दशैं आउनु १ महिना अगाडि ‘दशैंका जमरा’ बोलको दशैं गीत सार्वजनिक गरेका हुन् । जुन गीतमा परदेशमा रहेका व्यक्तिको समस्यालाई सम्बोधन गरेको छ ।
पन्त आफैंले लय शब्द सिर्जना गरेको गीतमा पन्तलाई पुरानी गायिका शर्मिला गुरुङले स्वरमा साथ दिएकी छन् । कमल सौरागले गीतमा संगीत संयोजन गरेका छन् । 
गीतको भिडियोमा स्वयं गायक कस्तुप र गायिका शर्मिलाका साथमा गंगाराज शर्मा पौडेल, सिता भट्टराई, आश्चार्य पन्त, स्मृति शिलवालको अभिनय देख्न सकिन्छ । राजेश घिमिरेको छायांकन र विष्णु शर्माको सम्पादन रहेको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् ।

अजय विश्वकर्माको ‘मरे बाकसमा’

प्रकाश सपूत र अमृता विश्वकर्माको अभिनयमा अजय विश्वकर्माले ‘मरे बाकसमा’ बोलको तीज गीत ल्याएका हुन् । उनकै शब्द र निशान बानियाँको संगीतमा गीत सार्वजनिक भएको छ । 
गीतको भिडियोले पनि वैदेशिक रोजगारकै पीडा बोलेको छ । भिडियोलाई निशान बानियाँले निर्देशन गरेका छन् । 

खुमन अधिकारीको ‘दशैं मनाए’

गायक खुमन अधिकारीले दशैं आउनु १ महिनाअघि नै ‘दशैं मनाए’ बोलको गीत सार्वजनिक गरे । कृष्णबाबुको शब्द, खुमन अधिकारीकै संगीत रहेको गीतमा खुमनलाई महिला स्वरमा अनु राना मगरले साथ दिएकी छिन् । 
भिडियोमा कृष्ण बाबु र प्रिया कँडेलको अभिनय देख्न सकिन्छ । भिडियोलाई मनिष पन्तले निर्देशन गरेका हुन् ।

विष्णु र पुश्कल शर्माले गाए ‘गुनासो नगर’

विष्णु माझी र पुश्कल शर्माको स्वरमा ‘गुनासो नगर’ गीत ३ दिनअघि मात्रै सार्वजनिक भएको छ ।
समुन्द्र जिसीको शब्द, सुरज लामिछानेको संगीत रहेको गीतकोे भिडियोमा सागर थापा र सगुन शाही देखिएका छन् । भिडियोमा काजिश श्रेष्ठको निर्देशन छ ।

विष्णु माझी र डम्बर विश्वकर्माको ‘गाउँ रमाइलो भाछ’

विष्णु माझी र डम्बर विश्वकर्माको स्वरमा ‘गाउँ रमाइलो भाछ’ बोलको दशैं गीत सोमवार मात्रै सार्वजनिक भएको छ । विमल अधिकारीको शब्द र अमितबाबु रोकायाको संगीतमा गीत सार्वजनिक भएको हो ।
गीतमा परदेशमा रहेका पतिलाई दशैंमा घर आउन आग्रह गरिएको छ । विमल अधिकारी र जुनु गुरुङको अभिनय रहेको भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन् ।

सन्तोष र शर्मिलाको ‘नीरमाया’

सन्तोष केसी र शर्मिला गुरुङको स्वरमा ‘नीरमाया’ बोलको दशैं गीत आइतवार मात्रै सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत सन्तोष केसीकै रहेको छ ।
सारिका केसी र रमेश केसीको अभिनय छ । भिडियोलाई छोटो समयमै स्रोता तथा दर्शकले रुचाएका छन् । भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन् ।

दुई विष्णुको ‘यो दशैंमा आउ’

विष्णु माझी र विष्णु खत्रीले ‘यो दशैंमा आउ’ बोलको दशैं गीत ल्याएका छन् । गीतमा विष्णु माझीकै शब्द तथा संगीत छ ।
विष्णु भट्टराईको निर्देशनमा बनेको भिडियोमा रश्मी भट्ट, राजु महोत्रा, मिरा महोत्रा लगायतको अभिनय छ ।

विष्णु माझीको ‘जहाजै चढेर’

विष्णु माझी र ऋषि खड्काले जहाजै चढेर बोलको दशैं गीत सार्वजनिक भएको छ । रमेश बिजीको शब्द, ऋषि खड्काको संगीतमा गीत बजारमा आएको हो ।
भिडियोमा सीमा ढकाल, प्रकाश सापकोटा, रमा थपलिया लगायतको अभिनय छ । भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन् ।

ऋषि र शान्ताश्रीको ‘मुग्लानी’

ऋषि खड्का र शान्ताश्री परियारले १० दिनअघि नै ‘मुग्लानी’ बोलको गीत सार्वजनिक गरिसकेका छन् । विपेश घिमिरेको शब्द, ऋषि खड्काको संगीतमा बजारमा आएको गीतमा विपेश घिमिरे र आशा खड्काको अभिनय छ । भिडियोलाई विपेशले नै निर्देशन गरेका छन् ।

विष्णु खत्रीको ‘दशैंमा रुन नपार’

गायक तथा सर्जक विष्णु खत्रीले ‘दशैमा रुन नपार’ बोलको दशैं गीत ल्याएका छन् । गीतमा उनलाई गायिका विष्णु माझीले स्वरमा साथ दिएकी छन् । गीतमा विदेशमा रहेका पतिलाई दशैंमा घर आउन आग्रह गरिएको छ ।
भिडियोमा विष्णु खत्री र शिरु विष्टको अभिनय छ । विष्णुकै लय–शब्द रहेको गीतको भिडियोमा राजेश विष्टको छायांकन तथा प्रकाश भट्टको निर्देशन छ । विष्णु शर्माले भिडियो सम्पादन गरेका हुन् ।

रामजी र नविनाको ‘मनमा पीर छ’

गायक रामजी खाँडले पनि दशैं गीत सार्वजनिक गरेका छन् । नविना वाग्लेसँगको स्वरमा ‘मनमा पीर छ’ बोलको गीत रामजीले ल्याएका हुन् । गीतमा नविनाको शब्द, पदम रोकायाको संगीत छ ।
भिडियोमा पदम रोकाया र नविनाकै अभिनय छ । वैदेशिक रोजगारमा बिदा नपाउँदा बडादशैंमा पनि घर जान नपाउँदाको पीडालाई गीतमा चित्रण गरिएको छ । भिडियोलाई पदम रोकायाले निर्देशक गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्