बेंसीशहर–हिमालपारीको जिल्ला मनाङ जोड्ने सडक आधा महीना बितिसक्दा सञ्चालनमा आउन सकेको छैन ।
गत भदौ २७ गते हरितालिका तीजको दिन मस्र्याङ्दी गाउँपालिकामा परेको वर्षाका कारण उक्त सडकखण्ड अवरुद्ध भएको थियो । लमजुङ खण्डका विभिन्न स्थानमा चट्टानसहितको पहिरो खसेपछि १८ दिनयता सडक अवरुद्ध भएको छ ।
लमजुङ खण्डको २५ किलोमिटर सडक अवरुद्ध भएकामा हाल बेंसीशहरदेखि मनाङतर्फ मस्र्याङ्दी गाउँपालिका–३, अर्खलेबेंशीसम्म र मनाङबाट लमजुङतर्फ मस्र्याङ्दी गाउँपालिका–४ रामबजारसम्मको बाटोमा यातायात सञ्चालन भएको छ ।
सडकखण्ड अवरुद्ध हुँदा मनाङ साथै उत्तरी भेगका घेर्मु, ताघ्रीङलगायतका स्थानीय बासिन्दाले समस्या भोग्नुपरेको छ । मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले सडक नखुल्दा घेर्मु, ताघ्रीङ साथै मनाङतर्फ खाद्यान्नलगायत ढुवानी ठप्प भएको बताए ।
मस्र्याङ्दी गाउँपालिका–४ का वडा अध्यक्ष सुमन गुरुङले चाडपर्व नजिकै आउँदा बाटो अवरुद्ध हुँदा स्थानीय बासिन्दाले सास्ती बेहोर्नुपरेको बताए ।