
काठमाडौं — अस्ट्रेलियाभन्दा उत्तरतिर रहेको देश पापुआ न्यु गिनीलाई महिलाका लागि सबभन्दा खतरनाक देशमध्ये एक मानिएको छ ।
केही अनुमानहरूले पापुआ न्यु गिनीमा ७० प्रतिशत महिलालाई उनीहरूको जीवनकालमा एकचोटि बलात्कार गरिने वा उनीहरूले कुनै प्रकारको यौन हिंसाको शिकार बन्नुपर्ने देखाएका छन् ।
बीबीसी पापुआ न्यु गिनीको राजधानी पोर्ट मोरेस्बी पुग्दा यस्ता मानिस पनि भेट्यो जो महिलाविरुद्धको हिंसालाई सही ठह–याउँछन् ।
त्यही यात्रामा केही महिलालाई पनि बीबीसीले भेट्यो । उनीहरू चाहिँ ‘अब त अति भो’ भन्छन् ।
बस्नका लागि सर्वाधिक कम योग्य देशहरूको सूचीमा रहेको पापुआ न्यु गिनीमा घरेलु हिंसा र बलात्कारको दर उच्च छ ।
सबभन्दा ठूलो चिन्ताको कुरा चाहिँ बलात्कारका केही आरोपीले मात्र सजाय पाउँछन् ।
एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार, यसै वर्षको जनवरी महिनादेखि मेसम्ममा घरेलु हिंसा र बलात्कारका कम्तमिा ६ हजार मुद्दा दर्ता भएका छन् ।
उनले भने, ‘यी त दर्ता भएका मुद्दा भए । दर्ता नभएका मुद्दा झन् कति धेरै होलान् तपाईं कल्पना गर्न सक्नुहुन्छ । यो किन भएको हो भने यहाँ यसलाई सामान्य मानिन्छ । महिलामाथि हिंसा हुनु यहाँ सामान्य कुरा ठानिन्छ ।’
यो देशमा बदमासी गर्नेहरूलाई रास्कल भनिन्छ । तिनैमाथि बलात्कारको सबभन्दा बढी आरोप छ ।
उनीहरूका अनुसार, कुनै महिलाको सामूहिक बलात्कार आपराधिक समूहको दैनिक गतिविधि हो ।
उनीहरू खुलेर यसबारेमा कुरा गर्छन् । उनीहरूलाई मिडियाको क्यामरा र प्रहरीको कुनै डर छैन ।
एक रास्कलले बीबीसीलाई बताए, ‘यहाँ महिलाहरू सबभन्दा सजिला शिकार हुन् । उनीहरूलाई लुट्न एकदम सजिलो छ । पिट्न पनि सजिलो छ । सडकमा तपाईंले महिलालाई पिट्नुभयो भने कसैले पनि विरोध गर्दैन । यो
सामान्य कुरा हो ।’
पोर्ट मोरेस्बी शहरमा कुनै महिलालाई ध्यान दिएर हेरेमा उनका सतर्क आँखाबाटै तपाईं थाहा पाउनुहुन्छ, उनीहरू एक निरन्तर खतरामा बाँचिरहेका छन् ।
शहरमा महिलाविरुद्ध हिंसाका घटना धेरै भएकाले सरकारले सेफ हाउसहरू बनाउनुपरेको छ ।
एउटा सेफ हाउसमा बीबीसीले सुजेनलाई भेट्यो । उनी दुई महिनादेखि बच्चाहरूसँग त्यहाँ बसेकी छन् ।
सन् २००० मा उनको बिहे भएको थियो । अठार वर्षसम्म घरेलु हिंसा सहेपछि उनले सहन सकिनन् ।
सुजेनले भनिन्, ‘ऊ मलाई धेरै कुट्थ्यो । यही वर्ष उसले बञ्चरोले हानेर मेरो हात चिरिदियो । मैले हातमा ३५ टाँका लगाउनुप–यो । उसले मलाई पिटेको पिट्यै गरेपछि डरका कारण मैले घरको दोस्रो तल्लाबाट हाम्फालेर ज्यान
जोगाउनुपरेको थियो । मेरो दाहिने गोडो भाँचिएको थियो ।’
सुजेनको पति उनलाई आफ्नो सम्पत्ति ठान्थ्यो र घरका मानिसले पनि उसलाई रोक्दैनथिए ।
अर्की महिला मारिसाले पनि सेफ हाउसमा शरण मागेकी थिइन् । तर नियमअनुसार, त्यहाँ बस्नका लागि उनको उमेर बढी छ ।
सेफ हाउसका व्यवस्थापकले उनलाई नियमको बाध्यताका बारेमा सम्झाएपछि मारिसा फर्किन् ।
मरिसाले बीबीसीसँगको कुराकानीमा भनिन्, ‘मेरो ज्वाईं मलाई बेल्टले हिर्काउँछ । ऊ मसँग सेक्स गर्न चाहन्छ । म त्यसो हुन दिन चाहदिनँ । मलाई घर फर्किन डर लागिरहेको छ । मेरी छोरीलाई पनि ऊ धेरै पिट्छ ।’
मरिसाका अनुसार, उनको ज्वाईंले आफ्नै दुई छोरीलाई पनि रेप गरेको छ । तर उनको परिवारलाई प्रहरीको कुनै सहायता उपलब्ध भएन ।
पाँच वर्षअघि मात्र पापुआ न्यु गिनीमा फेमिली प्रोटेक्सन एक्ट ल्याइएको थियो ।
त्यो ऐनअनुसार, घरेलु हिंसा एक अपराध हो जसका लागि दुई वर्षको सजाय हुन सक्छ वा आरोपितले दुई हजार अमेरिकी डलर जरिवाना दिनुपर्छ ।
इस कानूनका कारण ज्यानेट जस्ता महिलाको हौसला बढेको छ । उनले केही दिनअघि मात्र घरेलु हिंसाका कारण घर छोडेकी थिइन् ।
उनी भन्छिन्, ‘मैले साना बच्चाहरू छोडेर भाग्नुप–यो । तर म प्रहरीको सहायता लिन चाहन्छु । पापुआ न्यु गिनीमा घरेलु हिंसाविरुद्ध रिपोर्ट गर्ने खासै कल्चर छैन । महिलाहरू उजुरी प्रायः गर्दैनन् । तर म कानूनको सहायताले
आफ्ना बच्चाहरूलाई त्यहाँबाट निकाल्न चाहन्छु ।’
पापुआ न्यु गिनीमा पितृसत्तात्मक समाज छ । त्यहाँ घरका सबै निर्णयको अधिकार पुरुषमा मात्र छ ।
एक प्रहरी अधिकारीले पापुआ न्यु गिनीमा रेपको अधिकतम सजाय पाँच वर्षको कारावास भएको बताए अनि नाबालकहरूको मुद्दामा अधिकतम दुई वर्षको सजाय छ ।
प्रहरीका अनुसार, यो सजाय रेप जस्तो अपराधका लागि पर्याप्त छैन ।