२४ जेठ २०८३, आइतबार

२० प्रतिशत विकास बजेट रोजगारी सिर्जनामा खर्चिने तयारी, एक लाखभन्दा बढीलाई रोजगारी !

असोज १४, २०७५
२० प्रतिशत विकास बजेट रोजगारी सिर्जनामा खर्चिने तयारी, एक लाखभन्दा बढीलाई रोजगारी !

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले विकास बजेटको २० प्रतिशत रकम युवा रोजगारका लागि खर्च गरिने बताएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको विषयमा मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले विकास बजेटको कम्तिमा २० प्रतिशत रकम रोजगार कार्यक्रममा परिचालन गर्ने गरी तयारी भइरहेको बताए । त्यसका लागि मन्त्रालयले ड्राफ्ट निर्माण गरिरहेको र छिट्टै त्यसलाई मन्त्री परिषद्मा लैजाने तयारी भइरहेको उनको भनाइ छ ।

‘विकास बजेटको कम्तिमा २० प्रतिशत रकम अनिवार्य रूपमा रोजगारी सृजनामा खर्च गर्नेगरी हामीले व्यवस्थित तरिकाले प्रस्ताव मन्त्रिपरिषद्मा लगेर, पारित गराएर, विकास निर्माणमा लाग्ने ठूलो हिस्सामा रोजगारी सृजनाका लागि तयारी गरेका छौं,’ मन्त्री विष्टले भने ।

यसका लागि गम्भीरताका साथ अध्ययन भइरहेको उनले बताए । नेपालमा अहिले सबैभन्दा ठूलो चुनौती गरीबी र बेरोजगारी रहेको भन्दै मन्त्री विष्टले एक वर्षभित्रमा एक लाखभन्दा बढी बेरोजगारलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारी प्रदान गरिने बताए । 

‘प्रधानमन्त्री रोजगार कार्यक्रम सबै युवाले साझा र गौरव महसुस गर्नेगरी सञ्चालन गर्ने तयारीमा लागेका छौं,’ मन्त्री विष्टले भने, ‘हाम्रो प्राथमिकता नेपालका जनशक्तिलाई देशभित्रै रोजगारी सृजना गर्ने हो । श्रमलाई सम्मान गर्ने अभियानका साथ हामीले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउछौं र काममार्फत् बेरोजगारीले निराश बनेका युवामा आशा जगाउनेछौं ।’

कार्यक्रममा मन्त्रालयका उपसचिव डा. लोकनाथ भुसालले प्रधानमन्त्री रोजगार कार्यक्रमको विषयमा जानकारी दिँदै ९० प्रतिशत बेरोजगार युवालाई निजी क्षेत्र र १० प्रतिशतलाई सामाजिक कार्यमा रोजगारीको अवसर सृजना गरिने बताए । युवाहरू विदेशमा जस्तो काम गर्न पनि तयार हुने तर नेपालमा भने श्रममा विभेद रहेको भन्दै उनले प्रधानमन्त्री रोजगार कार्यक्रममले श्रम र श्रमिकको सम्मानलाई उच्च प्राथमिकतामा राखेको बताए ।

अन्तरक्रियामा विभिन्न दलका युवा संगठनमा आवद्ध युवा नेताले प्रधानमन्त्री रोजगार कार्यक्रम स्वागतयोग्य भएको बताए । उनीहरूले प्रधानमन्त्री रोजगार कार्यक्रम युवासँग प्रत्यक्ष जोडिएको कार्यक्रम भएकाले महत्त्वपूर्ण भएको धारणा राखे । युवाको अभिरुचि र बजारको मागका आधारमा कार्यक्रममार्फत् रोजगारीको अवसर सृजना गर्न उनीहरूको सुझाव छ ।

salt training

कमेन्ट गर्नुहोस्