राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा हिजो सोमवार शीतल निवासमा आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा दिनुभएको मन्तव्य सरकार सञ्चालकहरूको लागि सम-सामयिक दिशानिर्देश हुनसक्छ। ज्येष्ठ नागरिकहरूको आवाजलाई सम्मान गर्न उहाँबाट सबैसँग भएको आग्रह सरकारका सबै सरोकारवाला निकायसम्म अवश्य पुगेको हुनुपर्छ । ‘अनुभवले खारिएका ज्ञानको पुञ्ज’मानिने नागरिकहरूको सम्मानको सिलसिला राष्ट्राध्यक्षबाट थालनी हुनु आफैंमा एउटा प्रशंसनीय पहल हो ।
लोकोक्ति छ: ‘आगो ताप्नू मुढाको कुरा सुन्नु बूढाको’। हुन पनि हो, बूढाबूढीले इतिहास कहन्छन् र भविष्यको बाटो देखाउँछन् । नेपाली संस्कृतिले त बाबु-आमालाई देव-देवीसरहको सम्मानको हकदार समेत बनाएको छ । तिनले आफ्ना छोरा-छोरीको उन्नति र कल्याणबाहेक अरुथोक केही चिताउँदैनन् । तर आजको पुस्ताका नर-नारीहरूले बाबु-आमाको त्याग र स्नेहको महत्व राम्ररी नबुझेको देखिन्छ । पश्चिमी जगत्को सभ्यता र पढाइको प्रभावले हो वा के कुराले हो, युवापुस्ताका नेपाली महिला र पुरुष दुबैथरी अत्यधिक तवरले आत्मकेन्द्रित हुँदै गएका छन् । आफ्नो हक र अधिकारप्रति चर्को आवाज उठाउने तर आफ्नो पारिवारिक र सामाजिक दायित्वप्रति भने उदासीन रहने प्रवृत्ति चिन्तालाग्दो तहमा झरेको छ । परिवारका पाको उमेरका सदस्यहरूको विशेष हेरचाह गर्नुको साटो तिनलाई बृध्दाश्रममा थन्क्याइदिने चलन बढेर गएको छ ।
सम्पन्न र विकसित देशका चलन-प्रचलनलाई नेपालको विशिष्ट साँस्कृतिक परिवेशमा जस्ताको तस्तै लागू गर्ने सोचलाई दुस्साहस नै भन्नुपर्छ । अर्को कुरा, पश्चिमी संसारका सामाजिक मान्यता उतै पनि आलोच्य छन् ; एसियाका अधिकांश मुलुकमा परिवारले प्रदान गर्दै आएको संस्थागत सामाजिक आधार कतिपय पश्चिमाहरूको लागि इर्ष्याको विषय हुने गरेको छ । पारिवारिक स्नेह, सामीप्य रुपिञा पैसाले पाइने वस्तु होइन, हुन पनि सक्दैन ।
पाको उमेरका मानिसबाट परिवार र नजिकैको समाज मात्र होइन, सिङ्गो मुलुक नै लाभान्वित हुन्छ । देशमा साठीवर्ष माथिको उमेरका झण्डै ३० लाख ज्येष्ठ नागरिकहरू भएको सन्दर्भलाई ध्यानमा राख्दा तिनको सीमित शारीरिक कृयाशीलता तर असीमित मार्गदर्शन क्षमताबाट समाजको हरेक तह र तप्कालाई लाभ हुने कुरामा सन्देह छैन । सम्भवत: महामहिम राष्ट्रपतिले नेपालको युवापुस्ता यसै वास्तविकताप्रति सजग रहोस् भनेर आफ्नो सदाशय प्रकट गर्नुभएको हो ।
एक अर्को प्रासङ्गिक विषय । राष्ट्रपतिको सदिच्छा वा रोहबरमा हुने अन्य कतिपय कार्यक्रमहरू जस्तै सोमवारको समारोह पनि शीतल निवासमा आयोजना हुनु राम्रो हो । यसो गर्दा सुरक्षा निकायहरूले राष्ट्रध्यक्षको बाहिर ‘सवारी’ को नाममा र निहुँमा सर्वसाधारण जनताको आवागमनलाई खल्बल्याउन पाएनन् । तथापि कुनै-कुनै अवसरमा राष्ट्राध्यक्षको सार्वजनिक उपस्थिति अनिवार्य भैदिन्छ; त्यसलाई टार्न पनि मिलेन । तसर्थ यसप्रकारका सन्दर्भ आउँदा थोरैभन्दा थोरै सुरक्षाकर्मीहरू परिचालन गरी सर्वसाधारणलाई असुविधा नहुने बन्दोबस्त गरिनु पर्छ । ठाउँ हेरेर हेलिकप्टरको उपयोग एउटा विकल्प हो ।
वर्तमान राष्ट्रपति सामान्य ग्रामीण परिवारमा जन्मे-हुर्केको हुनाले उहाँमा जनसाधारणको पीरमर्काको पूरा जानकारी छ । वरिष्ठ पत्रकार भैरव रिसालले ध्यानाकर्षण गरे झैं, विगतमा राजाको सवारी चलाउने गरेको शैलीमा अहिलेका गतिविधि सञ्चालन गर्न लागे कतिको काम छुट्छ, कतिको जाँच छुट्छ, कतिको अस्पतालको सेवा छुट्छ, कतिको उडान छुट्छ त्यसको अनुमान समेत गर्न सकिँदैन । बस, टेम्पु, ट्याक्सी जस्ता सार्वजनिक यातायात अवरूध्द हुँदा प्रभावित नर-नारीमा हामीले अँगालेको पध्दतिप्रति नै नकारात्मक सोच पैदा हुने जोखिम रहन्छ । यस्तो जोखिम कम गर्न के-कस्ता उपाय प्रभावकारी हुन सक्छन् त्यसको निरुपण विशिष्ट व्यक्तिहरूको सुरक्षाव्यवस्था गर्नेहरू बीचको परामर्शद्वारा गर्न सकिन्छ । बरु विलम्ब गर्नु भएन ।
समाचार माध्यमले कुन गाउँ वा टोलमा आगलागी भएको छ त्यसको सूचना मात्र दिने हो, दमकल खटाएर आगो निभाउने काम त्यसको लागि मतदाताले चुनेर पठाएका प्रतिनिधि र लोकसेवा आयोगले छनोट गरेका कर्मचारीको हो । नत्र गरिव जनताले तिरेको करबाट सुविधाभोगीहरू पालेर किन राखिरहनु पर्यो ?