
काठमाडौं — पाकिस्तानका एक वरिष्ठ सरकारी कर्मचारीले कुवेतका गण्यमान्य अतिथिको पर्स चोरेको भिडियो सार्वजनिक भएपछि देशभरि बेइज्जती खेपेका छन् ।
सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि ती कर्मचारीलाई निलम्बन गरिएको छ ।
समाचारमा आएअनुसार, गण्यमान्य अतिथि उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य थिए । उक्त प्रतिनिधिमण्डल द्विपक्षीय व्यापारको वार्ता गर्न आएको थियो ।
डन न्युजका अनुसार, उद्योग एवं उत्पादन मन्त्रालयका सहसचिव जर्रार हैदर खानले पर्स चोरेको सीसीटीभी क्यामरामा कैद भयो । पर्समा टन्नै कुवेती मुद्रा दिनार थियो ।
६ सेकेन्डको भिडियोमा खान कुर्सीबाट पर्स उठाएर आफ्नो खल्तीमा हालिरहेका देखिन्छन् । कुवेती प्रतिनिधि तथा मन्त्रालयका अधिकारीहरू कुराकानीपछि हलबाट निस्केपछि उनले यस्तो हर्कत गरेका हुन् ।
घटना सार्वजनिक भएपछि खानलाई अनुशासनका आधारमा कारवाही गरियो ।
कुवेती प्रतिनिधिमण्डलका सदस्यले पर्स हराएको गुनासो गरेपछि मन्त्रालयमा खानतलासी गरियो । सबै कर्मचारीसँग कुरा गरियो र भेटिएन ।
पछि हलको सीसीटीभी फूटेज हेर्दा खानले चोरेको पत्ता लाग्यो । उनलाई फूटेज देखाइएपछि खुरुक्क पर्स राखिदिए ।
कुवेती प्रतिनिधिमण्डलले चोर चिन्ने जिद्दी गरेपछि उनीहरूलाई सीसीटीभी फूटेज देखाइयो र उनीमाथि कारवाही हुने विश्वास दिलाइयो ।
एजेन्सी