काठमाडौँ, १३ फागुन । सङ्घीय गठबन्धनले गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रको सङ्ख्या निर्धारण गरेपछि मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।
गठबन्धनको यहाँ आज बसेको बैठकले सीमा निर्धारण आयोगले अहिलेसम्म पनि विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको सङ्ख्या र सीमा निर्धारण नगरेको अवस्थामा घोषित निर्वाचनको मिति आफैँमा जायज नभएको ठहर गरेको छ ।
सरकार आफैँले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक परिमार्जनसहित पारित नगरी निर्वाचन घोषणा गरिएकाले आफूहरुलाई मान्य नभएको समेत जनाएको छ ।
बैठकले गठबन्धनको आगामी कार्यक्रम तय गर्नका लागि सङ्घीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा वृषेशचन्द्र लाल, केशव झा, रामनरेश राय, डा ओम गुरुङ, डा विजय सैंजु, दुर्गा राई, दलमर्दन कामी र प्रेमबहादुर खाती सदस्य छन । कार्यदलले एक हप्ताभित्रमा कार्यक्रम बनाई सङ्घीय गठबन्धनको बैठकमा प्रस्तुत गर्नेछ ।
कार्यदलले भावी कार्यक्रम तय गर्ने, समान धारणा भएका राजनीतिक दल तथा सङ्घ संस्थासँग आपसी समन्वय एवम् छलफल गर्ने गठबन्धनका प्रवक्ता डा ओम गुरुङले जानकारी दिए ।
गठबन्धनले सरकारलाई दिएको समर्थनका सम्बन्धमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित गठबन्धनमा आबद्ध संसद्मा प्रतिनिधित्व गर्ने दलसँग छलफल गरी अर्को बैठकमा निर्णय गर्ने बताएको छ ।