
धनगढी – सुदूरपश्चिम प्रदेशको धनगढीस्थित क्षेत्रीय रंगशालामा शनिवारदेखि बालिका तथा महिलाको लागि आत्मरक्षा सम्बन्धी शिविर शुरू भएको छ ।
मुलुकमा दिनप्रति दिन बढ्दै गएको बलात्कार तथा महिला हिंसाको घटनालाई लक्षित गरी एक हप्ते आत्मरक्षा सम्बन्धी शिविर शुरू गरिएको हो । शिविरको उद्घाटन मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमबीच गरेका छन् ।
उनले तालिमबाट महिलामा आत्मबल बढ्नेमा विश्वास व्यक्त गरे । प्रदेश सरकार महिला हिंसा न्यूनीकरणमा गम्भीरतापूर्वक लागेको बताउँदै उनले हिंसा न्यूनीकरणमा सबैको सहकार्य आवश्यक रहेको औल्याए ।
प्रदेशभित्र अझैं पनि बलात्कार, छाउपडी, बोक्सी आरोप लगाउने लगायत महिला हिंसाको घटना भइरहेको बताउँदै मुख्यमन्त्री भट्टले न्यूनीकरणको लागि प्रदेश सरकारले चाँडै नै अभियान सञ्चालन गर्ने बताए । अभियानको नेतृत्व अब जनप्रतिनिधिले गर्नुपर्ने र सबै जिल्लामा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
उनले महिलालाई मुल धारमा ल्याउन सरकार तयार रहेकोले महिलाहरू पनि स्वयम् उठ्न जरुरी रहेको औल्याए ।
राष्ट्रिय गोजुरियो कराते दो संघ नेपाल, सामाजिक विकास मन्त्रालय लगायत सरकारी तथा गैरसरकारी निकायको आयोजनामा शुरू भएको शिविर असोज २६ गतेसम्म सञ्चालन हुने भएको छ । शिविरमा १ हजार ७ सय बढी बालिका तथा महिलाको सहभागिता रहेको छ ।


