१७ असार २०८३, बुधबार

राजधानीमा फैलिँदै ‘छक्का पञ्जा ३’ : दर्शकले व्यग्र प्रतीक्षा गरेको दिपाश्रीको दाबी

राजधानीमा फैलिँदै ‘छक्का पञ्जा ३’ : दर्शकले व्यग्र प्रतीक्षा गरेको दिपाश्रीको दाबी

काठमाडौं – चलचित्र ‘छक्का पञ्जा ३’ यूनिट यतिबेला तीव्र प्रचारप्रसारमा छ । असोज २४ गते घटस्थापनाको दिनदेखि प्रदर्शनमा आउन लागेको चलचित्रले राजधानीका विभिन्न स्थानमा कन्सर्ट आयोजना गरेको छ ।

केही दिनअघि ‘छक्का पञ्जा ३, घटस्थापनाको दिन’ बोलको प्रचार सामाग्री ल्याएको यूनिटले गत बिहीवारदेखि कन्सर्टमार्फत् चलचित्रको प्रचारप्रसार गरिरहेको छ । चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, निर्देशक दीपाश्री निरौला, नायिका दीपिका प्रसाइँ लगायत कन्सर्टमा सहभागी भई चलचित्रबारे जानकारी दिएका छन् ।

कलाकारले कमेडी तथा गीतको माध्यमबाट दर्शकलाई मनोरञ्जन प्रदान गरेका छन् । चलचित्र यूनिटले लगनखेल बसपार्क, कोटेश्वर, बालाजु, चावहिल लगायतका स्थानमा कन्सर्ट गरिसकेको निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् । कन्सर्टमा उपस्थित दर्शकले आफूहरू चलचित्र हेर्न निकै उत्साहित रहेको बताउँदै प्रदर्शन मितिको प्रतिक्षा गरिरहेको बताएका जनाइएको छ ।

दर्शकको चलचित्रप्रतिको उत्साह देखेर आफूहरू हौसिएको दीपाश्रीले बताइन् । ‘कन्सर्टमा हामीले दर्शकलाई चलचित्रका बारेमा धेरै जानकारी नै दिनु परेन, किनकि दर्शक चलचित्रका बारेमा धेरै जानकार हुनुहुँदो रहेछ,’ लोकान्तरसँगको कुराकानीमा दीपाश्रीले भनिन्, ‘दर्शकको उत्साहले हामीलाई पूर्ण आशा थपिदिएको छ ।’ चलचित्रको कथालाई दर्शकले रुचाउनेमा आफूहरू विश्वस्त रहेको उनले बताइन् ।

चलचित्रमा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीतले यूट्युबमा १ करोड बढी दर्शक पाएको छ । त्योसँगै ‘पछि उमेर ढल्किन्छ’ बोलको गीतलाई पनि दर्शकले रुचाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्