
काठमाडौं — बलिउड अभिनेत्री तनुश्री दत्ताले नाना पाटेकरविरुद्ध यौन शोषणको उजुरी दर्ता गरेकी छन् । उनले मुम्बईको ओशिवारा थानामा उजुरी दर्ता गरेपछि प्रहरीले आइतवार उनको बयान लिँदैछ ।
सन् २००८ मा फिल्म हर्न ओके प्लीजको शूटिङका बेलामा नानाले आफूलाई गलत तरिकाले छोएको आरोप तनुले लगाएकी छन् ।
प्रहरीका अनुसार, तनुले उजुरीमा नाना पाटेकर, नृत्यनिर्देशक गणेश आचार्य, निर्माता समीर सिद्दीकी र फिल्म निर्देशक राकेश सारंगविरुद्ध भारतीय अपराध संहिताको धारा ३५४, ३५४(ए), ५०९ र दफा ३४ अन्तर्गत उजुरी दर्ता गरेकी हुन् ।
तनुले उजुरीमा लेखिन्, ‘एउटा गीतको शूटिङ चलिरहँदा नानाको व्यवहार अनुचित थियो । शूटको चौथो दिन उनले केही स्टेप सिकाउँछु भन्दै उनले मलाई अँगालोमा कसे । उनले जथाभावी हात चलाउन थालेपछि म असहज भएँ ।
अनि मैले नृत्यनिर्देशक, निर्माता र निर्देशकसँग गुनासो गरें । तर उनीहरूले उल्टै मलाई बदनाम गरिदिने धम्की दिए । नानाको इशारामा यो सबै भइरहेको थियो । सोलो गीतमा कुनै पनि इन्टिमेट सीन दिन मैले अस्वीकार गरें ।’
उता नानाले यी सबै आरोपहरू गलत रहेको बताएका छन् ।
एजेन्सी