१० असार २०८३, बुधबार

नगरपालिकाले ट्र्याक्टर नियन्त्रणमा लिन थालेपछि व्यवसायीको गुनासो– हामीलाई निकै दु:ख दिइयो

असोज २१, २०७५
नगरपालिकाले ट्र्याक्टर नियन्त्रणमा लिन थालेपछि व्यवसायीको गुनासो– हामीलाई निकै दु:ख दिइयो

सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाले शुक्रवार धुलियाबिट लगायतका नाकाबाट वीरेन्द्रनगर भित्रिन लागेका ८ वटा ट्र्याक्टर र त्यसमा लोड गरिएको बालुवा तथा गिट्टी नियन्त्रणमा लिएपछि व्यवसायीहरूले आफूहरू मर्कामा परेको गुनासो गरेका छन् । तोकिएको समयमा नआइपुगेको भन्दै जरिवाना समेत तिराउनु निकै दु:खद् भएको उनीहरूको गुनासो छ ।

‘हाम्रो ट्र्याक्टर भेरी नदीमाथि आइपुग्दा बिग्रेको थियो, सोही कारण धुलियाबिट आइपुग्न ढिला हुँदा प्रहरीले समातेर नगरलाई बुझायो,’ उनले भने, ‘हामी साना व्यावसायीलाई नगरपालिकाले असाध्यै दुःख दिएको छ ।’

यता नगरपालिकाले भने प्रदेश सरकारले ढुंगा, गिट्टी र बालुवा ढुवानीबारे बनाएको कार्यविधिअनुरूप नै ट्र्याक्टरहरू नियन्त्रणमा लिइएको जनाएको छ ।

'प्रदेश सरकारले पठाएको कार्यविधि र नगरपालिकाले स्वीकृत गरेको कार्यविधिकै आधारमा हामीले कारवाही प्रक्रिया अघि बढाएका हौं,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खड्काले लोकान्तरसँग भने, ‘कार्यविधिअनुरूप नै सुर्योदय हुने बेला बिहान ६ बजेदेखि सूर्यास्त हुने बेला साँझ ६ बजेसम्म मात्र नगरपालिकाभित्र ढुवानी गर्ने कार्यविधिअनुरूप हामीले वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई सहयोगका लागि पत्राचार गरेका थियौं । नगरको कार्यविधिविपरीतको कार्य गरेका कारण उहाँहरूको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएर निर्माण सामाग्री जफत गरिएको हो ।’

खड्काका अनुसार नगरपालिकाको कार्यविधिअनुरूप बिहान ६ बजेदेखि साँझ ६ बजेभित्र मात्रै खोलाजन्य निर्माण सामाग्री नगरमा ल्याउन पाइन्छ, अन्यथा ट्र्याक्टरलाई पाँच हजार जरिवानासमेत गर्ने प्रावधान छ । तर अहिले अमानतमा मात्रै खोलाबाट सामाग्री ल्याउन खुला गरिएको छ ।

‘अहिले हामीले पुरानो स्टक रहेको निर्माण सामाग्रीलाई मात्रै बजार ल्याउने अनुमति दिएका छौं,’ उनले भने, ‘यदि नगरक्षेत्रका खोलामा जेसीबी भेटिए १५ हजार र स्काभेटर भेटिएको खण्डमा ३५ हजार जरिवाना गर्ने व्यवस्था कार्यविधिमा छ ।’

salt training

कमेन्ट गर्नुहोस्