
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानबाट निकास र अदालतबाट न्याय पाइन्छ भन्ने विश्वास भएन भने जस्तोसुकै परिवर्तन पनि स्थायी र दिगो नहुने बताएका छन् ।
पार्टी निकट कानुन व्यवसायीहरुको संगठन राष्ट्रिय प्रजातान्त्रिक कानुन व्यवसायी संगठनद्वारा आज काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले न्यायीक क्षेत्र विवादमुक्त नभएकोमा चिन्ता प्रकट गरे ।
सबै उपचारको ढोका बन्द भएपछि अन्तिम आस्था र विश्वासको केन्द्र अदालत हो भन्दै थापाले अदालतको आस्था र विश्वासमा प्रश्न चिन्ह उठ्नुलाई स्वभाविक रुपमा लिन नसकिने दावी गरे ।
न्याय र कानुनको विश्वासलाई जनमानसमा पुनस्र्थापित गर्ने चुनौति रहेको बताउँदै अध्यक्ष थापाले न्यायीक क्षेत्रको स्वतन्त्रता र सर्वोच्चतामा राप्रपा सदैव प्रतिबद्ध रहेको विचार व्यक्त गरे ।
धेरै राजनीतिक परिवर्तनमा कानुन व्यवसायीहरुको सकारात्मक भूमिकाको अपेक्षा समेत उनले गरे ।
अध्यक्ष थापाले नेपाल र नेपाली जनताका आफ्नै किसिमका विशिष्ट र मौलिक संस्कृति, पहिचान रहेको चर्चा गर्दै वैदिक र सनातन मूल्य मान्यतालाई कमजोर बनाउने षडयन्त्रप्रति विद्वतवर्ग सचेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै राप्रपाका नेता एवं सांसद राजेन्द्र लिङदेनले न्यायालयमा भएको तिव्र राजनीतिकरण र न्याय सम्पादन जनताको सरल पहुँचमा नभएको प्रति चिन्ता प्रकट गरे ।