०५ साउन २०८३, मंगलबार

सांसदलाई लाख रुपैयाँ पर्ने ‘ल्यापटप’ दिने तयारी अन्तिम चरणमा

असोज २३, २०७५
सांसदलाई लाख रुपैयाँ पर्ने ‘ल्यापटप’ दिने तयारी अन्तिम चरणमा

जनकपुरधाम –२ नम्बर प्रदेशका सांसदलाई ‘ल्यापटप’ दिने प्रक्रिया अगाडि बढेको छ । प्रदेशका १ सय ७ जना सांसद र सचिवालयका केही कर्मचारी समेतलाई ल्यापटप सुविधा उपलब्ध गराउन प्रदेश सभाले गृहकार्य अगाडि बढाएको छ । प्रदेशमा ६४ जना प्रत्यक्ष र ४३ जना समानुपातिक गरी १ सय ७ जना सांसद रहेका छन् ।

प्रदेशसभा सचिवालयका उपसचिव रंजित यादवका अनुसार प्रदेश सभामा काम गर्न सहज होस् भन्ने उद्देश्यले सबै सांसदलाई ल्यापटप उपलब्ध गराउन सचिवालयले प्रक्रिया अगाडि बढाइसकेको छ । १ सय ७ जना सांसदका लागि र कर्मचारी समेतका लागि १ सय २५ देखि १ सय ३० वटासम्म ल्यापटप किन्ने तयारी अगाडि बढेको उनले बताए ।

कस्तो र कुन मोडेलको ल्यापटप किन्ने भन्ने विषय निर्क्योल गर्न नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपा एमालेका सांसद सत्रुघन महतो र उपसचिव यादव रहेको समिति बनेको छ ।

समितिले कम्प्यूटरबारे जानकार विज्ञसँग छलफल गरेर ल्यापटपबारे छलफल समेत भइसकेको उपसचिव यादवले बताए । ८ जीबी र्‍यामको ल्यापटप किन्ने, कम्तिमा पनि ५ वर्ष वा ४ वर्षसम्मको वारेन्टी सहितको सुनिश्चितता हुने गरी १ लाख रुपैयाँसम्म पर्नसक्ने ल्यापटप किन्ने तयारी भएको उनले बताए ।

ल्यापटप किन्नका लागि अब चाँडै टेन्डर समेत आह्वान हुने लगभग तयारी पूरा भइसकेको उनले बताए । ‘ल्यापटप किन्न प्रदेश सभामा एकमुष्ठ बजेट पहिलेदेखि पनि छ, यदि घटी हुन पुगेमा प्रदेश सरकारले आवश्यक बजेट उपलब्ध गराउने कुरा समेत टुंगो लागिसकेको छ,’ उनले भने ।

सांसदले ल्यापटप बोक्ने भएपछि प्रदेशसभा कागजविहीन हुने गरी तयारी गरेको भएपनि ल्यापटप चलाउन नजान्ने सांसदलाई भने गाह्रो हुनेछ । यसका अतिरिक्त प्रदेशसभा सदस्यले मासिक ५२ हजार ६ सय रुपैयाँ पारिश्रमिक, बैठकभत्ता प्रतिदिन १ हजार रुपैयाँ पाइरहेका छन् । 

सञ्चार सुविधाबापत प्रतिमहिना ३ हजार रुपैयाँ, आवास सुविधाबापत १५ हजार प्रतिमहिना, ५ वर्षको लागि फर्निचरबापत एकमुष्ठ ५० हजार रुपैयाँ, निजी सचिवालय बन्दोवस्तबापत २ हजार रुपैयाँ प्रतिमहिना पाइरहेका छन् । 

बिजुली धाराबापत प्रतिमहिना २ हजार रुपैयाँ, स्वदेशमा दैनिक भ्रमण भत्ताबापत २ हजार ५ सय रुपैयाँ, विदेशमा भ्रमण गर्दा २ सय अमेरिकी डलर प्रतिदिन सुविधा पाइरहेका छन् ।

प्रदेशसभा सदस्यले राजपत्राकिंत तृतीय श्रेणीका १ जना स्वकीय सचिवको सुविधा पाइरहेका छन् ।

कमेन्ट गर्नुहोस्