काठमाडौं – नेपाल टेलिकमले विजयादशमीको अवसरमा विगतका वर्षझै कम्पनीका सेवामा छुट योजना सार्वजनिक गरेको छ ।
टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले विज्ञप्ति जारी गर्दै छुट योजनाबारे जानकारी दिइन् । कम्पनीका सेवामा अनलिमिटेड प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ । ६ सय रुपैयाँमा १५ दिनको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध गराइने छ ।
प्याक अन्तर्गत १ जीबी पिक आवर (बिहान ६ बजेदेखि राति १० बजेसम्म) र १ जीबी अफपिक आवर (राति १० देखि बिहान ६ बजेसम्म) प्रयोग गर्न सकिन्छ । सोही प्याक ७ दिन समयावधिका लागि मात्र ३ सय रुपैयाँमा समेत उपलब्ध हुनेछ । प्याक लिने सेवाग्राहीलाई ‘वाउ टाइम’ र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क उपलब्ध गराइने छ ।
भ्वाइस प्याक अन्तर्गत ६ रुपैयाँमा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने छ । १ दिनका लागि मात्र उपलब्ध हुने सुविधा बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ ।
डाटा प्याक अन्तर्गत ३६ एमबी डाटा ६ रुपैयाँमा १ दिनका लागि उपलब्ध हुनेछ । डाटा पनि बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । छुट योजनाहरू असोज २४ देखि कात्तिक ७ गतेसम्म खरिद गर्न सकिने छ ।
अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *1415*9# डायल गर्नुपर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’बाट पनि प्याकेज खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेवसाइट www.ntc.net.np मार्फत् पनि विस्तृत जानकारी लिन सकिन्छ ।
रिचार्जमा बोनसमा आगामी असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने भएको छ । १०० रुपैयाँ र २ सय रुपैयाँको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जमार्फत् रिचार्ज गर्दा १० प्रतिशत र ५ सय रुपैयाँ र १ हजार रुपैयाँको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ । १ सय रुपैयाँ र २ सय रुपैयाँको बोनस ३ दिनभित्र र ५ सय रुपैयाँ र १ हजार रुपैयाँको बोनस ५ दिनभित्र उपभोग गरिसक्नुपर्ने छ ।
त्यसैगरी एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र सो बोनस ५ दिनभित्र उपभोग गरिसक्नुपर्ने छ ।
एडीएसएल, एफटीटीएच, वाइम्याक्सतर्फ आगामी असोज ३० देखि कात्तिक ६ गतेसम्म एडीएसएल, एफटीटीएच, वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकको समयावधि कात्तिक ७ गतेसम्म थप गरिने छ । बिचैमा समय सकिएपनि ग्राहकको सेवा सुचारु भइरहने छ ।