
सुर्खेत – छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको कर्णाली प्रदेशमा पहिलो पटक अध्यागमन कार्यालय स्थापना भएको छ ।
संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मंगलवार हुम्लाको हिल्सामा अध्यागमन कार्यालय उद्घाटन गरेसँगै औपचारिक रुपमा कर्णाली प्रदेश अन्तर्राष्ट्रिय बजारसँग जोडिएको छ ।
अध्यागमण कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री थापाले हिल्सा नाकामा अध्यागमण कार्यालको स्थापनापछि कर्णाली प्रदेशसँगै पश्चिम नेपालको समृद्धिको ढोका खुलेको बताए । गृहमन्त्री थापाले हिल्सा नाका हुम्ला जिल्लाको मात्र नभई कर्णाली प्रदेश र नेपालकै आशालाग्दो व्यापारिक नाकाको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।
नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन तथा समृद्धिमा हिल्सा नाकाले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै गृहमन्त्री थापाले मित्रराष्ट्र चीनको विकासमा नाकाले योगदान गर्ने बताए । उनले हिल्सा नाका छिमेकी देश चीन, भारत हुँदै युरोपसँग पनि जोडिने भएकाले आफ्नै महत्त्व रहेको बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिल्साको अध्यागमन कार्यालय स्थापनासँगै कर्णाली प्रदेशको समृद्धिका लागि बाटो खुलेको बताए । भन्सार, अध्यागमन, क्वारेन्टाइन, सीमा प्रहरी बलको कार्यालयका लागि पूर्वाधार विकास गर्न प्रदेश सरकारले ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताउँदै मुख्यमन्त्री शाहीले चालू आर्थिक वर्षमै निर्माण कार्य पूरा गर्ने बताए ।
उनले पूर्वाधार निर्माणमा बजेट अभाव भए थप बजेट व्यवस्था गर्न प्रदेश सरकार तयार रहेको बताए । मुख्यमन्त्री शाहीले यसै महिनाको पहिलो साता गरेको चीन भ्रमणलगत्तै सीमा नाकामा भन्सार कार्यालय स्थापना भएको छ ।
मुख्यमन्त्री शाहीले भ्रमणका क्रममा चीनसँग सिमानाका सञ्चालन, हिल्सा–जमुनाहा द्रूतमार्ग निर्माण लगायतका विषयमा संवाद गरेका थिए ।
अध्यागमन कार्यालयको उद्घाटनमा गृहमन्त्री थापासँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल, गृहसचिव, भन्सार विभागका महानिर्देशक, लगायत १५ जनाको टोली हुम्लाको सिमकोट हुँदै हिल्सा पुगेको थियो ।