काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले दीर्घकालिन महत्त्वका विषमा काम गरिरहेको बताएका छन् । उनले जनताको चाहना अनुसारको छिटो छरितो काम हुन नसकोको स्वीकार गर्दै त्यसको समिक्षा गरेर अघि बढ्ने बताए ।
राजधानीमा बुधबार आयोजित पाथीभरा सदभावना दुत परिचय पत्र वितरण कार्यक्रममा प्रचण्डले विकास निर्माणका काम छिटो होस् भन्ने जनताको चाहाना पुरा हुन नसकिरहेको भन्दै पार्टीले त्यसको समिक्षा गरिरहेको बताए । उनले सुशासन र विकासको पक्षमा केही समयमा महत्त्वपूर्ण निर्णय गर्ने बताए ।
‘जनताको प्रश्नहरु नेतृत्व तहमा पुगेका छन् त्यसलाई सम्बोधन गर्न हामी केन्द्रीत भइरहेका छौं’ प्रचण्डले भने,‘हामी बरवाद भइहाल्यौं भन्नु पर्ने परस्थिति छैन ।’
अहिले सरकार पाँच वर्ष चल्नका लागि कुनै व्यवधान नभएको भन्दै प्रचण्डले सरकारले आफ्नो कामको समिक्षा गर्दै अघि बढ्ने बताए ।
एक फरक प्रसंगमा अध्यक्ष प्रचण्डले नेकपाका नेता योगेश भट्टराईलाई मन्त्री नभ्याइएको र केही समयपछि बनाउने बताए ।‘ चुनावका बेला केपी जीले ताप्लेजुमा गरेको भाषण हेरेको थिए त्यहाँ उहाँले योगेशलाई ताकेरै भन्नु भएको रहेछ तपाइँहरु योगशजीलाई भोट हालेर जिताउनुस मन्त्री बनाएर पठाउने जिम्मा हाम्रो’ प्रचण्डले भने,‘त्यो जिम्मा पूरा गर्न भ्याएका छैनौं केपीजी र मैले एकदिन त्यो जिम्मा पूरा गर्छौं ।’