काठमाडौं, फाल्गुन १५-विश्वको सर्वोच्च शिखर सगरमाथाको भौगोलिक अवस्था र उचाइ सर्वेक्षण गर्न नापी विभागले सर्भेको प्रस्ताव गरेको छ । नापी विभागका महानिर्देशक कृष्णराज बीसीले सन् १८५५ मा सगरमाथाको उचाइ तत्कालीन सर्भे अफ इन्डियाले नापेको भए पनि नेपाल आफैंले सर्भे गरी विस्तृत विवरणसहित नाप-नक्सा तयार पार्नुपर्ने बताएका छन्।
सगरमाथा सर्वेक्षण प्रस्ताव गरेको तथा जनशक्ति र भौतिक पूर्वाधार जुटाउने तयारीमा विभाग लागिपरेको महानिर्देशक बीसीले बताए ।उनले १ सय ६२ वर्षअघिको सर्भे प्रामाणिक रहेको पुष्टि गर्न नेपालले सगरमाथाको विस्तृत भौगोलिक विवरण र उचाइ नाप्नुपर्नेमा जोड दिए। उनले भने, ‘पछिल्लो समय भारतले सगरमाथाको उचाइ फेरि नाप्ने चर्चा चले पनि आधिकारिक प्रस्ताव आएको छैन।'

नेपालमा जग्गा नापजाँच ऐन २०१९ र नियमावलीअनुसार नै सर्वेक्षण गर्नुपर्ने र यसरी गरिएको सर्वेक्षणले मात्र आधिकारिकता पाउने कानुनी व्यवस्था छ । सबै राष्ट्रको नापनक्सासम्बन्धी आ–आफ्नै कानुनी प्रावधान भएकाले आधुनिक प्रविधिको विकाससँगै समयसापेक्ष सर्भे गर्न आवश्यक रहेको बीसीले बताएको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ। भारतको तत्कालीन सर्भे अफ इन्डियाले नापेर निर्धारण गरेकै आधारमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर (२९ हजार २८ फिट) लाई नै अहिलेसम्म विश्वभर आधिकारिक मानिँदै आएको छ। नेपालले पनि यही उचाइलाई मान्यता दिएको छ।
सगरमाथालगायत ८ हजार मिटरभन्दा माथिका ८ वटा हिमाल र बाँकी ४ सयभन्दा बढी हिमालको सर्वेक्षण गर्न आवश्यक र सर्वेक्षणमा छिमेकी मुलुक भारत–चीन दुवैको सहयोग चाहिने उनी बताउँछन्।
सार्वभौम राष्ट्र भएकाले नेपाली भूभाग तथा भूबनोटको सर्वेक्षण गर्ने अधिकार नेपालसँग सुरक्षित रहेकाले देशहितमा हुने गरी अनुमति दिए सर्वेक्षणमा सर्भे अफ इन्डियाले सघाउन सक्ने महानिर्देशक बीसी बताउँछन्।