०२ असार २०८३, मंगलबार

दक्षिण कोरियाले उत्तरमाथिको प्रतिबन्ध हटाउने विचार गरेपछि ट्रम्प क्रुद्ध

दक्षिण कोरियाले उत्तरमाथिको प्रतिबन्ध हटाउने विचार गरेपछि ट्रम्प क्रुद्ध

काठमाडौं — दक्षिण कोरियाले उत्तर कोरियाविरुद्ध लगाइएको आर्थिक प्रतिबन्ध हटाउने विचार सार्वजनिक गरेपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसको तत्कालै निन्दा गरेका छन् । यसबाट सउल र वाशिङटनबीचको साझेदारीमा विभाजन आएको संकेत पाइएको छ । 

बिहीवार दक्षिण कोरियाकी परराष्ट्रमन्त्री काङ क्युङ–ह्वाले सउल स्वेच्छाले उत्तरमाथि सन् २०१० मा लगाइएको प्रतिबन्ध फुकुवा गर्न तयार रहेको बताइन् । त्यतिखेर दक्षिणको जलसेनाको एक जहाज डुबाइँदा ४६ जनाको मृत्यु भएको थियो । 

हुन त दक्षिणको यो कदम प्रतीकात्मक मात्र हो किनकि उसले संयुक्त राष्ट्रसंघद्वारा लगाइएको प्रतिबन्धलाई पालन गर्नैपर्ने हुन्छ र त्यो प्रतिबन्धले लगभग उस्तै क्षेत्र समेट्छ । 

दुवै कोरियाले मानवीय सहायता भन्दा बाहेक अरू कुनै पनि कुराको आदानप्रदान गर्न नपाउने गरी प्रतिबन्ध लागेकोमा त्यसको समीक्षा भइरहेको काङले बताइन् । 

यो टिप्पणीलाई ट्रम्पले आलोचना गरे । ‘उनीहरूले हाम्रो स्वीकृतिविना यसो गर्ने छैनन् । हाम्रो स्वीकृतिविना उनीहरू केही पनि गर्ने छैनन्,’ ट्रम्पले भने । वाशिङटनमा अधिकारीहरूले उत्तर पूर्णतया निःशस्त्रीकरण नहुन्जेल अधिकतम दबाब कायम राख्ने प्रतिज्ञा गरेका छन् । 

दुई कोरियाबीचको सैन्य सम्झौताबाट अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओ असन्तुष्ट रहेको पनि काङले स्वीकार गरिन् । आफूलाई पर्याप्त मात्रामा यसका बारेमा नबताइएकोमा पम्पिओ असन्तुष्ट भएका हुन् । 

उत्तर कोरियासँग कसरी व्यवहार गर्ने भन्ने विषयमा दक्षिण कोरिया र अमेरिकाबीचको दीर्घकालीन मतभिन्नतालाई यी दुई फरक सन्देशले उजागर गरेका छन् । मूनको उदारवादी सरकारले उत्तर कोरियासँग निकट सम्बन्ध बनाउने पक्ष
लिएको छ तर अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको पालन गर्ने पनि बताएको छ ।

द गार्डियनबाट
 

salt training

कमेन्ट गर्नुहोस्