१२ असार २०८३, शुक्रबार

तत्कालका लागि हच्किए गौतम, चिनीमा चलखेल-अख्तियारले छानबिन गर्नुपर्ने

तत्कालका लागि हच्किए गौतम, चिनीमा चलखेल-अख्तियारले छानबिन गर्नुपर्ने

काठमाडौं– प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले यही असोज १८ गतेको समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सरोकारवालाले प्रतिबद्धता जाहेर गरेअनुसार सो मूल्यलाई कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो । 
    
समितिले चाडपर्वमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुले सुलभ रुपमा यात्रा गर्न सक्ने गरी बस, माइक्रोबस तथा यातायात साधन र हवाई यातायातलाई सर्वसुलभ बनाई थप कडाइका साथ लागू गर्न समेत सरोकार  पक्षलाई निर्देशन दिएको छ । 

यता, प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको हित हुने गरी तत्काल चिनीको मूल्य निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सिंहदरबारमा बसेको बैठकले चिनीको आयातमा परिमाणत्मक बन्देज लगाइनुअघि आयात भएको चिनी गोदामको तत्काल अनुगमन गर्न र गैरकानूनी कार्य गरेको पाइएमा गोदममा सिलबन्दी गरी कारबाही गर्नसमेत सरकारलाई निर्देशन दिएको छ । 

त्यस्तै उखु किसानले चीन उद्योगीबाट पाउनुपर्ने बाँकी बक्यौता रकम तत्काल किसानलाई उपलब्ध गराउनसमेत समितिले सरकारको ध्यानाकर्षण गराएको छ । किसानले उखु बिक्री गरेवापत पाएका रकम र बाँकी रहेको रकमको यथार्थ विवरण समितिमा पठाउन आग्रह गरिएको छ । समितिले जनकपुर चुरोट कारखाना र वीरगन्ज चिनी कारखानाको जग्गालगायत भौतिक संरचनाको विवरणसमेत माग गरेको छ । 

चिनीमा चलखेल भएको ठहर, अख्तियारले छानबिन गर्नु पर्ने
संसदीय समितिले चिनी आयात रोकेर मूल्य बढाउन ठूलै आर्थिक चलखेल भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न दिनुपर्ने सुझाव दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गठन गरेको चिनी पैठारी एवं मूल्य अनियमिततासम्बन्धी छानबिन समितिले चिनीको ‘कोटा’ खुला गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिन पनि सिफारिस गरेको छ ।

सांसद लेखराज भट्टको संयोजकत्वमा गठित उपसमितिले बिहीबार प्रतिवेदन बुझाउँदै उक्त सुझाव दिएको हो । समितिले मूल्य अनियमितता छानबिन गर्ने जिम्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिनुपर्ने ठहर गरेको छ ।

चिनी आयातमा लगाइएको पूर्णबन्देज हटाउन, भन्सारदरमा समयानुकूल पुनरावलोकन गर्र्न र परिमाणात्मक बन्देजलाई बजारको माग तथा आपूर्तिसँग सन्तुलन गराउने रणनीति तय गर्न उपसमितिले सुझाव दिएको छ ।

‘शान्ति सुरक्षामा सम्वेदनशील छौं’
सरकारको निर्देशन र जनभावना अनुसारअघि बढ्न प्रतिवद्धता रहेको सुरक्षा निकायका प्रमुखहरूले जनाएका छन् । बिहीबार भएका छुट्टाछुट्टै कार्यक्रममा नेपाली सेना र नेपाल प्रहरीका प्रमुखले मुलुकमा अमनचयन र शान्ति सुरक्षाकायम गर्न सुरक्षा निकाय प्रतिबद्ध रहेको बताएका हुन् । 

उनीहरुले एकआध घटनालाई आधार बनाएर सिंगो सुरक्षा संगठन नै नराम्रो छ भन्न नहुने बताए । ६३ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको मूल्यांकन गुण र दोषका आधारमा हुनुपर्ने बताए । कञ्चनपुर घटनालाई लिएर प्रहरीको आलोचना भइरहेकोतर्फ संकेत गर्दै खनालले अनुसन्धान जनधारणा भन्दा विज्ञको रायमा भर पर्ने र यसमा समयसीमा तोक्न नसकिने स्पष्ट गरे ।

यस्तै, आर्मी अफिसर्स क्लबमा आयोजित दशैंको शुभकामना आदनप्रदान कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाले विखण्डनकारी समूहको सुक्ष्म निगरानी गरिरहेको जानकारी गराउँदै राज्यले आवश्यक ठाने सेना तयार रहेको स्पष्ट पारे । सेनाले संविधानद्वारा निर्देशित दायित्व मात्रै निर्वाह गर्ने उल्लेख गर्दै थापाले आफू सङ्गठन भित्रको भ्रष्टाचार हटाउन लागि गरेको जानकारी गराए । 

यसैबीच प्रहरी दिवसका अवसरमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायको कामको प्रशंसा गर्दै आगामी दिनमा अझै व्यवसायिक दक्षता वृद्धि गर्नु पर्नेमा सरकार गम्भीर रहेको जनाए । संयुक्त राष्ट्रसंघको अनुरोधमा विदेशस्थित विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनाका लागि सञ्चालित मिसनमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको सुरक्षा निकायले अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाललाई स्थापित गराउन भूमिका खेलेको भन्दै प्रधानमन्त्री ओलीले समृद्धिको पहिलो आधार नै शान्ति सुरक्षा रहेको बताए । 

सांसद बन्ने योजनाबाट पछि हटे गौतम
चौतर्फी आलोचना भएपछि वामदेव गौतम उपचुनावमाफर्त संसद्मा छिर्ने योजनाबाट पछि हटेका छन् । पार्टीभित्र र बाहिरबाट आफूमाथि तीब्र आलोचना भएपछि केही शीर्ष नेता र आफू निकट नेतासँगको परामर्शपछि गौतमले सांसद् बन्ने योजनाबाट पछि हट्ने मनस्थितिमा पुगेका हुन् ।

उनले सम्भवत शुक्रबार विज्ञप्तिमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने छन् । ‘समय, परिस्थिति र भूगोल छनौट पनि उपयुक्त नभएको, चुनावमा लड्ने योजनाले पार्टी र स्वंम वामदेवमाथि आक्रमण तीव्र भएकोले अब उहाँ प्रतिनिधिसभामा जाने विषयमै पुनर्विचारको अवस्थामा पुग्नुभएको छ’, गौतम निकट एक नेताले भने, ‘उहाँले अब वक्तव्यमार्फत आफ्ना कुरा सार्वजनिक गर्नुहुन्छ।’

पार्टी एकताको सुत्रधार आफू प्रतिनिधिसभामा नुहँदा संसद् र सरकारको काम प्रभावकारी बन्न नसकेको भन्दै गौतमले सांसद् प्रवेशलाई महत्व दिएका थिए । संसद् प्रवेशको उनको चाहलाई पार्टीभित्रै धेरै नेताले ‘शंका’ को दृष्टिले हेरेका छन् । आफू प्रतिनिधिसभा पुग्नका लागि गौतमले पार्टी सांसदलाई राजीनामा गराउने प्रयत्नमा धेरै अघिदेखि लागे पनि कतै सफल भएका थिएनन् । काठमाडौं ७ का सांसद रामवीर मानन्धरले ठाउँ छाड्न तयार भएपछि गौतम निक्कै उत्साहित देखिएका थिए । तर बुधबारबाट भने उनी काठमाडौं ७ मा चुनाव लडने योजनाबाट हच्किएका छन् ।

पार्टी शीर्ष नेताकै असहयोग हुनसक्ने, वागी उम्मेदवार खडा गर्न सक्ने र बर्दिया चुनावमा जसले हराउन भूमिका खेले उनैले अघोषित विरोधी गठबन्धन बनाउन सक्ने देखेपछि उनी पछि हटने निष्र्कषमा पुगेका हुन् । गौतम निकट स्रोत भन्छ, ‘पार्टीभित्रै घेराबन्दी हुने देखेपछि उहाँ पछि हट्ने मनस्थितिमा पुग्नुभएको हो।’, अन्नपूर्ण पोस्टमा खबर छ ।

उपनिर्वाचनको प्रस्तावले नियमित कार्यसूची प्रभावित
नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट प्रतिनिधिसभामा ल्याउने पहलसँगै पार्टीका नियमित कार्यसूची प्रभावित भएको छ । उपनिर्वाचनमा गौतमलाई अघि सार्ने तयारीपछि पार्टीभित्र र बाहिरबाट व्यापक टीकाटिप्पणी व्यक्त भएपछि सो विषयमा नेकपाको सचिवालय अनिर्णित भएको छ भने शीर्ष नेताबीच आपसी आशंकासमेत पैदा भएको छ । 

काठमाडौं निर्वाचन क्षेत्र नं ७ का नेकपाका सांसद रामवीर मानन्धरले नेता गौतमका लागि ठाउँ खाली गर्न आफूले राजीनामा दिन तयार रहेकाले स्वीकृतिका लागि नेतृत्वलाई दिएको पत्र पार्टीको यही असोज २२ गतेको सचिवालय बैठकमा एकाएक प्रस्तुत भएपछि अन्य नियमित कार्यसूची प्रभावित भएको थियो । पार्टी एकतालाई तल्लो कमिटीसम्म विस्तार गर्नुपर्ने र सरकार सञ्चालन तथा समन्वयलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएका बेला उपनिर्वाचनको सन्दर्भले विषयान्तर गरेको देखिन्छ । 

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानन्धरको पत्र सचिवालय बैठकमा प्रस्तुत गरेपछि मात्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सो विषयमा जानकार हुनुभयो ।  सो दिनका अन्य कार्यसूचीमा कुनै निर्णय हुन सकेन । सचिवालयको बैठक पुनः यही असोज २७ गतेका लागि सरेको छ ।

दशैंअघि कर्णालीमा चामल ढुवानी गरिने
नेपाल खाद्य संस्थान सुर्खेतले दशैंअघि नै कर्णालीका सबै खाद्य डिपोमा चामल ढुवानी गरिसक्ने भएको छ । हुम्ला र डोल्पामा हवाई तथा बाँकी जिल्लामा स्थलमार्गबाट संस्थानले सहुलियत दरको चामल ढुवानी गरिरहेको छ ।

कर्णालीका उच्च पहाडी र हिमाली जिल्लामा दशैंतिहारका बेला खाद्यान्न अभाव हुन नदिन प्रभावकारी ढुवानी व्यवस्थापन मिलाइएको छ । संस्थानका सुर्खेत कार्यालय प्रमुख भीम थापाले असोज मसान्तसम्म कर्णालीका २३ वटै डिपोमा चामल ढुवानी गरिसक्ने बताए । पछिल्लो पटक संस्थानको सुर्खेत गोदामबाट मुगुका लागि ६ सय क्विन्टल चामल पठाइएको छ । हुम्लाका लागि एक हजारमध्ये ५० क्विन्टल चामल हवाई मार्गबाट सदरमुकाम सिमकोट पुर्याइएको छ । 

घुस लिएको अभियोगमा उपसचिव पक्राउ 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ, पर्साका एकाइ प्रमुख उपसचिव लालबाबु साहलाई रु ४० हजार घुस लिएको अभियोगमा वीरगञ्जबाट पक्राउ गरेको छ । विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भएपछि बैैंकमा रोक्का भएको रकम फुकुवा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उपसचिव साहले घुस लिँदालिँदै पक्राउ गरेको हो ।

आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री
सरकारले शुक्रबारदेखि काठमाडौँ उपत्यकामा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण शुरु गर्ने भएको छ । नेपाल खाद्य संस्थानको थापाथलीस्थित धान गोदामबाट ती खसी, बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्न लागेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

उनका अनुसार बिहीबार साँझसम्म १८० खसी बोका तथा ४०० च्याङ्ग्रा काठमाडौँ ल्याइसकिएको छ । सरकारले दशैंलाई लक्षित गरेर मुस्ताङबाट एक हजार च्याङ्ग्रा खरिद गरी ल्याउने लक्ष्य राखिए पनि करीब ९०० च्याङ्ग्रा ल्याइने उनले बताए । दाङलगायत पश्चिमी जिल्लाबाट खसीबोका ल्याउने तयारी गरे पनि त्यहाँका व्यापारीले कुनै चासो नदेखाएपछि मकवानपुर र पर्साबाट खसीबोका खरिद गरी ल्याइएको महानिर्देशक गौचनले बताए ।

यसैबीच सरकारले खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । विभागका महानिर्देशक गौचनले च्याङ्ग्रा प्रतिकिलो ७१० र खसीबोका प्रतिकिलो ५१० मा बिक्री गरिने जानकारी दिए । सरकारले बिक्री गर्ने खसीबोका र च्याङ्ग्रा खरिद गर्दा उपभोक्ताले प्रतिकिलो रु १० छुट पाउने छन् ।  

तलब वृद्धि गर्ने निर्णयमा महासंघको विरोध 
सरकारले पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतमात्र वृद्धि गर्ने निर्णय गरेकोमा नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको ५० प्रतिशत पारिश्रमिक वृद्धि गर्न सिफारिस गरेको थियो । 

सरकारले यस विपरित २५ प्रतिशतमात्र न्यूनतम पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेकोप्रति महासंघले आपत्ति जनाएको हो । महासंघद्वारा जारी विज्ञप्तिमा न्यूनतम पारिश्रमिक पुनरावलोकन गरी २९ हजार पाँच सय कायम गर्न सरकारसँग माग गरिएको छ ।

वाणिज्य बैंकको मिलेमतोमा नयाँ व्याजदर 
वाणिज्य बैंकहरुले एकआपसमा मिलेमतो गरी नयाँ व्याजदर कायम गर्ने समझदारी गरेका छन् । नेपाल बैंकर्स सङ्घको बिहीबारको बैठकले व्यक्तिगत बचत खातामा पाँच प्रतिशतसम्म व्याज दिने समझदारी गरेका हुन् ।

बैठकमा २८ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको सहभागिता थियो । यस्तै व्यक्तिगत मुद्दती खातामा नौ प्रतिशत र संस्थागत मुद्दती खातामा भने १० प्रतिशतसम्म व्याज दिने भएका हुन् । केही बैंकले निक्षेप तान्न भन्दै बचत खाता र मुद्दती खातामा बढी व्याज दिन थालेका थिए । त्यसबाट बचतकर्तालाई भने फाइदा भएको थियो । 

शहिद स्मारक ‘ए’ डिभिजन लिग 
विभागीय टोली नेपाल पुलिस र थ्री स्टार क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी शुरुवात गरेका छन् । ललितपुरको एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै विजयी भएको हो ।

यस्तै, पहिलो खेलमा थ्री स्टारले एनआईबीएल फ्रेन्ड्स क्लबलाई २–१ ले पराजित गर्दै विजयी भयो । प्रतियोगिता अन्तर्गत शुक्रबार दुई खेल हुनेछन् । बिहान ११ बजे एन्फा मैदानमा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र एपिएफ तथा ३ बजे हुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र मनाङ मस्र्याङ्दी प्रतिष्पर्धा गर्नेछन् । 

पहिलो राउन्डको खेल सकिएलगत्तै २७ गतेदेखि लिग एक महिनाका लागि लिग स्थगित हुने एन्फाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्