चितवन, १५ फागुन- बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा नयाँ चिनियाँ विशेषज्ञ टोली आइपुगेको छ।
हाल रहेको टोली मार्च १ तारिखमा फिर्ता हुने तयारीसँगै नयाँ टोली यहाँ आएको हो। चीन सरकारले एसियाकै नमुना अस्पतालका रूपमा निर्माण गरिदिएको सो अस्पतालमा चीन सरकारले नै उच्चस्तरको विशेषज्ञ टोली सुरुवातदेखि नै पठाउँदै आएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुनका अनुसार अन्तरङ्ग सेवा सुरु गरेकै वर्षबाट चीन सरकारले विशेषज्ञसहितको टोली पठाउन सुरु गरेको हो ।
गत वर्षसम्म टोली दुई/दुई वर्षमा परिवर्तन हुने गरेको भए पनि अहिलेबाट भने एक÷एक वर्षमा परिवर्तन हुने गरेको छ । आउँदो मार्च १ तारिखबाट चिनियाँ टिम लिडर लि डोङ विनसहितको टोली चीन फर्कंदै छ भने प्लास्टिक सर्जन डा युअन हावजुन नेतृत्वको टोली नेपाल आइसकेको छ ।
करिब एक हप्ताको समयमा पुरानो टोलीले नयाँ टोलीलाई अस्पतालका कामको प्रकृति र चिनजान गराउने कार्यकारी निर्देशक पुनले बताउनुभयो । टोलीमा एकजना दोभासे, एकजना सहायकस्तरको कर्मचारी हुन्छन् भने १५ जना क्यान्सर रोगसम्बन्धी विज्ञ चिकित्सक रहने कार्यकारी निर्देशक पुनले बताउनुभयो । टाउको, छाती, फोक्सो, कलेजोजस्ता महत्वपूर्ण अङ्गका क्यान्सर रोगसम्बन्धी विशेषज्ञ रहने गर्दछन् ।
अस्पतालका अध्यक्ष डा प्रकाश न्यौपानेले चीन सरकारले अस्पताल निर्माणसँगै नियमित चिनियाँ विशेषज्ञ टोली खटाउनुका साथै औषधि, उपकरण, अस्पतालमा नै र चीन लगेर चिकित्सक एवम् प्राविधिकलाई तालिम दिने गरेको बताए। गत वर्षमात्रै चीन सरकारले सिटिस्क्यानसहितका करोडौँका उपकरण क्यान्सर अस्पताललाई प्रदान गरेको थियो । अध्यक्ष डा न्यौपानेले चीन सरकारको नियमित सहयोगका कारण अस्पताल सञ्चालनमा सहयोग पुगेको बताए।
सन् १९९८ मा चीन सरकारले निर्माण गरेको भवन हस्तान्तरणपछि सन् १९९९ बाट अस्पतालमा अन्तरङ्ग सेवा सुरु भएको हो । सन् १९९५ बाट नै डे केयर सेवा सुरु गरिएको थियो। रासस