
काठमाडौं — दुई कोरियाली मुलुकका सेनाले तनाव घटाउन र दुर्घटनावश हुने भिडन्तलाई रोक्ने हालैको सम्झौतालाई लागू गर्ने विषयमा शुक्रवार कुराकानी गरेका छन् ।
सउलको रक्षा मन्त्रालयले यो जानकारी दिएको हो ।
पानमुनजोमस्थित सीमा शान्ति ग्राममा दुवै पक्षले माइनलाई हटाउने कारवाहीका सम्बन्धमा तथा कोरियाली युद्धमा मरेका सैनिकको अवशेष उत्खनन गर्ने विषयमा कुराकानी गरेका छन् ।
परीक्षणका रूपमा सीमाका केही गार्डपोस्टहरू हटाउने र हान नदीक्षेत्रमा संयुक्त अनुसन्धान गर्ने विषयमा पनि वार्ता भएको छ । उक्त क्षेत्रमा नागरिकलाई जान रोक लगाइएको छ ।
दक्षिण कोरियाली राष्ट्रपति मून जे–इन र उत्तर कोरियाली नेता किम जोङ–उनबीच अघिल्लो महिना प्योङयाङमा भएको तेस्रो शिखर सम्मेलनका बेलामा भएको व्यापक सैन्य सहमतिमा यी उपायहरू संलग्न छन् ।
उक्त सहमतिले एकअर्काविरुद्ध सबै प्रकारका शत्रुतापूर्ण कारवाही रोक्ने र युद्धको खतरालाई व्यावहारिक रूपमा अन्त्य गर्ने आह्वान गरेको छ ।
एजेन्सी