
काठमाडौँ, १५ फागुन - व्यवस्थापिका–संसद् अन्तर्गतको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको बैठकमा अपाङ्गता भएका व्यक्तिसम्बन्धी कानुन निर्माण गर्दा बस्ने ठाउँमा अनिवार्य साइरन राख्नुपर्ने सांसदहरुको भनाइ रहेको छ ।
सिंहदरबारस्थित समितिको आज बसेको बैठकमा सांसद लक्ष्मण राजवंशीले भन्नुभयो, “अपाङ्गता भएका व्यक्ति बस्ने ठाउँमा साइरन हुनुपर्छ, उनीहरुलाई आपत्÷विपद्मा पर्दा अरुले थाहा पाउँछन् ।”
त्यस्तै, अपाङ्गता भएका व्यक्तिलाई चित्रकला, काष्ठकला, नृत्य, सङ्गीतमा प्रोत्साहन गर्नुपर्ने र अस्पताललगायतका सार्वजनिक स्थल अपाङ्गमैत्री बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७२ माथिको दफाबार छलफलमा सांसद राजवंशीले सो कुरा राख्नुभएको हो । सांसद आनन्दी पन्तले पनि अपाङ्गमैत्री भवन, उनीहरुको बस्ने ठाउँमा साइरन अनिवार्य हुनुपर्ने र उनीहरुले गर्नसक्ने खालको काममा प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो ।
सांसद अनुराधा थापामगर, रत्नादेवी गुरुङ, श्रीमाया थकाली, रीता रावललगायतले अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण र सम्वद्र्धन गर्ने तथा समाजमा सम्मानित र मर्यादित नागरिक बनाउने खालको ऐन जरुरी भएको धारणा राख्नुभएको थियो ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्णु लम्सालले सो विधेयक तयार गर्दा सरोकारवाला सबै पक्षसँग छलफल गरेर संविधानको दायरामा रहेर तयार गर्ने उल्लेख गर्दै उनीहरुको आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, स्वावलम्बन तथा सम्मानजनक व्यवहारका लागि ऐन बनाउन लागेको बताउनुभयो ।
समितिका सभापति रञ्जुकुमारी झाले अपाङ्गता भएका व्यक्तिको समग्र विकासका लागि सो ऐन ल्याउन लागेको भन्दै त्यसलाई अन्तिम रुप दिनका लागि एक समिति निर्माण गर्नुभएको छ ।
समितिका सभापति झाको संयोजकत्वमा आनन्दी पन्त, मीनाक्षी झा, सुजाता परियार, धन पहाडी, रत्नादेवी गुरुङ र रीता रावल हुनुहुन्छ । मङ्गलबार विहान ११ बजे बस्ने गरी बैठक सकिएको छ । रासस