
काठमाडौं — बलिउडमा मीटू अभियान चलेपछि अनेकौं सेलेब्रिटीमाथि योन दुर्व्यवहारको आरोप लागिसकेको छ ।
यसैक्रममा अभिनेत्री कृतिका शर्माले कास्टिङ निर्देशक विकी सिदानामाथि यौन शोषण र बलात्कारको कोशिश गरेको आरोप लगाएकी छन् । जूम टीभीलाई दिएको अन्तर्वार्तामा कृतिकाले पाँच वर्षअघि भएको घटनाका बारेमा बताएकी हुन् ।
सन् २०१३ मा अडिसनको सिलसिलामा आफूले विकीलाई भेट्न गएको कृतिका बताउँछिन् । छानिएपछि उनलाई बोलाइयो । सबै कुरा छिटोछिटो भयो र उनले मुम्बईका लागि टिकट काटिन् अनि बस्नका लागि सिदानाको अफिससँग मद्दत मागिन् ।
मुम्बई पुगेपछि उनी सिदानाको अफिस पुगिन् । उनले पहिलो प्रश्न गरे, ‘मैले तिमीलाई सहायता गरें भने के पाउँछु ?’
पछि उनले कृतिकालाई आफ्नो घर जान भने । उनकी श्रीमती घरैमा होलिन् भनेर कृतिका उनीसँग गइन् ।
विकीले बाटोमा अश्लील टिप्पणी गरेको कृतिकाको आरोप छ । घरमा पनि श्रीमतीको नजर छलेर उनले अश्लील इशारा गरिरहे ।
कृतिकाका अनुसार, एकजनालाई भेटाउने भन्दै विकीले कृतिकालाई एउटा घरमा लगे । त्यहाँ पुगेर घरका ढोका बन्द गरेर उनले ओछ्यानमा पछारेर पाइन्ट खोलिदिन थाले । कृतिकाले रुँदै आफूलाई छोडिदिन भनेपनि उनले जबर्जस्ती गरिरहे ।
कृतिकाले भनिन्, ‘म यहाँ यो काम गर्न आएकी हैन । काम पाउनका लागि म कसैसँग सुत्दिनँ । मैले तपाईंलाई धेरै विश्वास गरेर यहाँ आएकी थिएँ ।’
त्यसपछि विकीले उनलाई छोडे र यहाँबाट ट्याम्पु चढेर जा भने । कृतिकाले आफूलाई सम्हालिन् र ट्याम्पु चढेर विमानस्थल पुगिन् ।
एजेन्सी