०६ असार २०८३, शनिबार

आफ्नो नवजात शिशुलाई छुनेबित्तिकै कोमाबाट जागिन् यी महिला

आफ्नो नवजात शिशुलाई छुनेबित्तिकै कोमाबाट जागिन् यी महिला

काठमाडौं — ब्राजिलकी एक महिला अमान्दा दा सिल्भा कोमामा रहँदा नै सिजेरियन अपरेसन गर्नुपरेको छ । अपरेसन गरेको दुई हप्तापछि उनले नवजात शिशुलाई छोइन् र होशमा आइन् । 

अमान्दालाई छारेरोग लागेको छ । उनको ३७ हप्ताको गर्भ थियो । त्यतिखेरै उनको पतिसँग चर्को झगडा भयो र स्वास्थ्य बिग्रियो । 

अमान्दाका पहिले नै तीन बच्चा थिए । कोमामा गएपछि चिकित्सकहरू गर्भमा भएको बच्चालाई बचाउन चिन्तित भए । 

हतारहतारमा अमान्दाको सिजेरियन अपरेसन गरियो । उनको छोरो भिक्टरको तौल २.१ किलो थियो त्यसैले उनलाई गहन रेखदेखमा राखियो । 

भिक्टर जन्मेको दुई हप्तासम्म पनि अमान्दा कोमामै थिइन् । उनी न कसैसँग बोल्न सक्ने स्थितिमा पनि थिइनन् । यस्तोमा एक नर्सले छोरोलाई अमान्दाको छातीमा राख्ने सुझाव दिइन् । 

त्यसो गर्नेबित्तिकै अमान्दाको मुटुको ढुकढुकी चल्न थाल्यो । उनले बच्चालाई हातले छोइन् र रोइन् । लगभग २३ दिनपछि अमान्दाको स्थितिमा सुधार आयो र उनी घर फर्किन् । 

नर्सका अनुसार, अमान्दाको शरीरमा बच्चा राख्नेबित्तिकै कसरी चेतना आयो त्यसको वैज्ञानिक आधार छैन । आमा र बच्चाबीचको स्पर्शको ठूलो महत्त्व रहेको उनको भनाइ छ । 

अमान्दा भन्छिन्, ‘मेरो छोरो कसरी जन्मियो मलाई नै थाहा छैन । तर उसलाई छातीमा राखेपछि मलाई उसको गन्ध आयो । यो चामत्कारिक घटना थियो । मैले पेटमा हात राख्दा पो थाहा पाएँ, डेलिभरी भइसकेको रहेछ ।’

एजेन्सी

कमेन्ट गर्नुहोस्