
काठमाडौं — सतलोक आश्रममा भएका पाँचवटा हत्याको मुद्दामा भारतको विशेष अदालतले मंगलवार रामपाल समेत १५ दोषीलाई आजीवन कारावासको सजाय सुनाएको छ ।
सजाय सुनेपछि रामपालले परमात्माले जे गर्नुभयो, ठीक गर्नुभयो भनेका छन् । उनको यो भनाइ सुनेपछि बाँकी १४ दोषीले रामपाललाई दण्डवत् प्रणाम गरेका छन् ।
यसअघि अदालतमा मंगलवार बिहान साढे ११ बजे रामपाललाई पेश गरिएको थियो । सबै दोषी शिर झुकाएर उभिएका थिए । रामपालको प्रतिरक्षामा १० जना वकिलले पैरवी गर्दै कमभन्दा कम सजाय मागिरहेका थिए ।
अभियोजन पक्षले चाहिँ मृत्युदण्डको माग गरेको थियो । न्यायाधीश डीआर चालियाले पौने १ बजे फैसला पढेर सुनाएका थिए ।
कुनै समयमा कनिष्ठ इन्जिनीयर रहेका रामपाल अब कैदी नम्बर १००५ का रूपमा सजाय काट्नेछन् । उनले जेलमा लघु उद्योग वा बागवानीको काम गर्न सक्ने सम्भावना छ । त्यस कामका लागि उनलाई पारिश्रमिक दिइनेछ ।
रामपाल कुनै समयमा १२ एकडमा बनेको सतलोक आश्रममा विलासी जीवन बिताउँथे ।
रामपालले प्रहरीसमक्ष कबुलेका थिए, ‘मैले कमान्डोलाई महिला तथा बच्चा पिटेर कोठामा थुन्न भनेको थिएँ । राति कोठा खोलेर हेर्दा एक बच्चा र चार महिलाको मृत्यु भइसकेको थियो । उनीहरूको लाश आश्रमबाहिर फ्याँक्न लगाएको
थिएँ ताकि मृत्युका लागि प्रहरीलाई जिम्मेवार बनाउन सकियोस् । मेरो पक्राउ रोक्नका लागि निजी कमान्डोले साथ दिएका थिए ।’
एजेन्सी