
काठमाडौं — नर्वेकी प्रधानमन्त्री एर्ना सोल्बर्गले दोस्रो विश्वयुद्धमा जर्मन सैनिकहरूसँग सम्बन्ध राख्ने नर्वेली महिलाहरूमाथि भएको दुर्व्यवहारमा आधिकारिक क्षमायाचना गरेकी छन् ।
नर्वे त्यतिखेर तटस्थ मुलुक थियो र सन् १९४० को अप्रिलमा नाजी सेनाले उक्त देशलाई जितेका थिए ।
लगभग ५० हजार नर्वेली महिलाले जर्मन सैनिकहरूसँग शारीरिक सम्बन्ध बनाएको अनुमान गरिन्छ ।
नाजी नेता हाइनरिख हिम्लरले जर्मनहरूलाई नर्वेली महिलाबाट सन्तान जन्माउन समेत प्रेरित गरेका थिए ।
एडोल्फ हिटलरमुनि रहेर काम गर्नेहरूमध्ये हिम्लर सबभन्दा बढी शक्तिशाली थिए र उनी नर्वेली महिलालाई मन पराउँथे । आर्यन उच्च जातिसम्बन्धी नाजी अवधारणालाई प्रवर्द्धन गर्नका लागि उनीहरू उपयोगी हुने हिम्लरको सोच थियो ।
जर्मननियन्त्रित लेबेस्बोर्न प्रसूती गृहमा धेरै नर्वेली–जर्मन बालबालिका जन्मेका थिए । नाजीहरूले उक्त प्रसूती गृह सन् १९४१ मा स्थापना गरेका थिए ।
सैनिकहरूसँग सम्बन्ध बनाएका महिलालाई जर्मन केटीहरू भनी उपनाम दिइएको थियो । विश्वयुद्ध अन्त्य भएपछि उनीहरूलाई देशमाथि गद्दारी गरेको आरोप लगाउँदै प्रतिशोध लिइएको थियो ।
सजायस्वरूप उनीहरूलाई नागरिक अधिकारबाट वञ्चित गर्ने, थुनामा राख्ने वा देशनिकाला गरेर सन्तानसहित जर्मनी पठाउने कामहरू भएका थिए ।
नर्वेली प्रधानमन्त्रीको माफी सेन्टर फर होलोकास्ट एन्ड माइनोरिटी स्टडीजले प्रकाशन गरेको एक प्रतिवेदनका आधारमा मागिएको हो । त्यसमा नर्वेको युद्धोत्तर कार्यको विवरण छ ।
विश्वयुद्ध सकिएको ७० वर्ष बितिसकेको अवस्थामा त्यतिखेरको घटनाको प्रत्यक्ष असर परेका महिला जीवितै रहेर माफी सुन्ने सम्भावना कमै छ ।
बीबीसीबाट