काठमाडौं – कपिल शर्मा फेरि एकपटक दर्शकहरूलाई हँसाउन आउने भएका छन् । उनले ट्वीट गरेर आफू फर्किने जानकारी दिएका छन् ।
द कपिल शर्मा शोको नयाँ सीजनको शूटिङ फेरि शुरू गर्न लागेको उनले बताए । ट्विटर र इन्स्टाग्राममा आफ्नो सेल्फीसहित उनले मंगलवार मुम्बई पुगेको जानकारी दिए । अब उनी पूरै स्वस्थ भइसकेका छन् र धमाकेदार फिर्तीका लागि तयार छन् ।
अव्यावसायिक व्यवहार देखाएको आरोप लागेपछि केही समय हराएका कपिल टीभीमा फर्किन लागेका हुन् ।
उनी टीभीमा शो लिएर फर्किने खबर पाएपछि प्रशंसकहरू खुशी भएका छन् ।
कमेडियन भारती सिंहले उनलाई आफ्नै शैलीमा स्वागत गरेकी छन् । भारती लेख्छिन्, ‘वेलकम ब्याक मेरो भाइ, अब तबाही मच्चाऔं ।’
आफ्ना सहकर्मी सुनिल ग्रोभरमाथि गरेको दुर्व्यवहारपछि कपिलको करीयर ओरालो लाग्न शुरू गरेको थियो । अनि उनको स्वास्थ्य पनि लगातार बिग्रँदै गएपछि उनले शोको शूटिङा लागि आएका कलाकारहरूलाई रित्तै हात फर्काउने गरेका थिए ।
उनले पछिल्लोपटक ल्याएको शो पूरै फ्लप भएपछि सोनी च्यानल पनि उनीसँग असन्तुष्ट रहेको थियो । तर अब विगतलाई भुल्दै कपिल टीभी जगतमा धमाका गर्ने सुरमा देखिन्छन् ।
एजेन्सी