
काठमाडौं, १६ फागुन – चैतदेखि नेपालमा युरो–४ मापदण्डको पेट्रोलियम बिक्रीवितरण हुने भएको छ । हाल नेपालले युरो–३ स्ट्यान्डर्डको पेट्रोलियम मात्र प्रयोग गर्दै आइरहेकोमा आगामी मार्च १ (चैत १९ )देखि युरो–४ स्ट्यान्डर्डको पेट्रोलियमको वितरण थालिने नेपाल आयल निगमले जानकारी दिएको छ ।
हाल बिक्रीवितरण गरिँदै आएको मापदण्डको पेट्रोलियम वातावरणीय तथा पर्यावरणीय स्वास्थ्यका दृष्टिले हानिकारक भएको भन्दै तुलनात्मक रूपमा कम हानिकारक मापदण्डको युरो–४ स्ट्याण्डर्डको पेट्रोलियमको अवधारणा ल्याइएको हो ।
छिमेकी भारतले आगामी अप्रिलदेखि आफ्नो मुलुकमा युरो–४ अनिवार्य गर्दैछ । भारतले अप्रिलपछि युरो–४ मुनिको स्ट्याण्डर्डका पेट्रोलियम उत्पादन र वितरणमा रोक लगाउँदैछ ।
सोहीअनुसार नेपालले पनि यस्तो व्यवस्था लागू गर्न लागेको हो ।
यसअनुसार आगामी अप्रिलदेखि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन युरो–४ स्ट्याण्डर्डका हुनेछन् ।
आगामी मार्चमा हुन गइरहेको पेट्रोलियम नवीकरण सम्झौताका लागि नेपाल र भारत दुवै मुलुकले तयार गरेको संयुक्त मस्यौदामा युरो–४ लागू गर्ने विषय समेटिएको निगमका प्रवक्ता भानु खनालले लोकान्तरसँग बताए ।
‘युरो–४ लागू गर्ने विषयमा दुवै मुलुकबीच सहमति जुटिसकेको छ,’ उनले भने, ‘पेट्रोलियम सम्झौताले यसलाई आधिकारिकता दिनेछ ।’
के हो युरो–४ ?युरो–४ पेट्रोलियम पदार्थको गुणस्तरसँग सम्बन्धित मापदण्ड हो । हाल नेपालमा युरो–३ मापदण्डको पेट्रोलियम मात्र आयात र बिक्रीवितरण हुन्छ । भारतमा पनि हालसम्म युरो–३ नै बढी प्रचलनमा छ । वातावरणीय प्रदूषण
न्यूनीकरण गर्न भारतले युरो–४ लागू गर्न लागेको हो ।
हाल विश्वमा युरो–६ सम्म प्रचलनमा छ । विकसित मुलुकले युरो–६ स्ट्याण्डर्डका पेट्रोलियम प्रयोग गर्दै आएका छन् ।
भारतले भने आगामी दुई वर्षभित्रै युरो–६ मा फड्को मार्दैछ ।
कति महंगो पर्छ ?
निगमका अनुसार युरो–४ स्ट्याण्डर्डको तेल मूल्यका हिसाबले हालभन्दा थोरैमात्र महंगो हुन्छ । निगमका प्रवक्ता खनालका अनुसार युरो–३ को भन्दा ३० देखि ३५ पैसामात्र महंगो पर्छ ।
के फाइदा ?
निगमका अनुसार युरो–४ स्ट्याण्डर्डको पेट्रोलियमले माइलेज र प्रदूषणका हिसाबले तुलनात्मक रूपमा बढी प्रभावकारी छ । यो स्ट्याण्डर्डको पेट्रोलियममा सल्फरको मात्रा कम हुन्छ । यसले इन्जिनको आयु र कार्यक्षमता बढाउनेछ । प्रदूषण न्यूनीकरणमा पनि युरो–४ तुलनात्मक रूपमा फाइदाजनक हुने निगम बताउँछ ।
पेट्रोलियममा पूर्ण परनिर्भर नेपालले हाल वार्षिक झण्डै सबा खर्ब रुपैयाँ बराबरको पेट्रोलियम आयात गर्छ ।