
गोरखा- प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको जीर्णाेद्वारको काम सकिएको छ । २०७२ सालमा गएको भूकम्पका कारण क्षती भएको मन्दिर १३ करोड रुपैयाँ लागतमा जीर्णाेद्वार सम्पन्न भएको हो ।
भूकम्प लगत्तै २०७२ असारमा क्षमा पूजा गरेर मन्दिरको पुरानो संरचना भत्काइएको थियो । सरकारी अनुदान तथा भक्तजनबाट उठेको चन्दा रकमबाट जीर्णाेद्वार सम्पन्न भएको मनकामना मन्दिर जीर्णाेद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठ बताउछन् ।
समितिका अनुसार नेपाल सरकारको चार करोड र भक्तजनको आठ करोड रुपैयाँले मन्दिर जीर्णोद्वार सम्पन्न भएको हो । मनकामना मन्दिरको जीर्णोद्वारको काम सम्पन्न भएसँगै दशैंको समयमा भक्तजनले मन्दिरमै पूजा गरेका छन् ।
यसअघि मन्दिरको उत्तरतिर मन्दिरको प्रतिमा बनाएर पूजा गर्ने व्यवस्था मिलाइएको थियो । जीर्णोद्वार गरिएको मनकामना मन्दिरको छानोमा तामाको पातामा सुनको जलपले पोतिएको छ । तामाको पातामा १८ किलो सुन खर्चेर मनकामना मन्दिरमा जलप लगाइएको छ ।
दशैंको समयमा मनकामना मन्दिमा तीर्थालुको घुईचो लागेको छ ।