
काठमाडौं — टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासमा हराएका साउदी पत्रकार जमाल खशोग्गीको मृत्यु भएको साउदीले स्वीकारेपछि उनको लाश कहाँ छ भन्ने कौतूहल जागेको छ ।
टर्कीका अधिकारीहरूका अनुसार, खशोग्गीको शवलाई बेल्ग्रेड जंगल वा त्यसनजिकको जमीनमा गाडिएको हुनुपर्छ ।
खशोग्गी अक्टोबर २ तारिखमा बेपत्ता भएका थिए ।
साउदीले बल्लबल्ल आएर आफ्नै वाणिज्यदूतावासमा खशोग्गी मारिएको स्वीकारेको हो ।
तर खशोग्गीले दूतावासमा झगडा गरेको र मुक्का हानाहान हुँदा उनको मृत्यु भएको साउदीले जनाएको छ ।
खशोग्गीको लाश इस्तानबुलस्थित बेल्ग्रेड जंगलमा खोजिँदैछ । सूत्रहरूका अनुसार, हत्याको दिन दुईवटा गाडी त्यहाँ पुगेका थिए ।
यसैबीच टर्कीको सरकारी समाचार संस्था अनादोलूका अनुसार, साउदी अरबको वाणिज्यदूतावासमा कार्यरत १५ मानिससँग सोधपुछ भइरहेको छ ।
आफ्नी प्रेमिका हदीजे जेनगीजसँग बिहे गर्नका लागि आवश्यक पेपरवर्कका लागि खशोग्गी टर्कीस्थित साउदी दूतावास पुगेका थिए र त्यहाँबाट जिउँदो बाहिर निस्केनन् ।
टर्कीका अधिकारीहरूले आफूसँग भएका प्रमाणले खशोग्गीको हत्या साउदी अरबका एजेन्टहरूको एक टोलीले गरेको देखाउने दाबी गरेका छन् ।
उनको हत्या गर्न साउदीबाट १५ जनाको टोली आएको र उनीहरूले हाड काट्ने यन्त्र पनि ल्याएको टर्कीका अधिकारीहरू बताउँछन् । टोलीका एक सदस्य पोस्टमार्टम गर्ने चिकित्सक रहेको पनि थाहा हुन आएको छ ।
बीबीसीबाट