
कपिलवस्तु– कपिलवस्तुको कृष्णनगरमा लगाइएको कर्फ्यू चार घण्टाका लागि हटाइएको छ । सोमबार बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्मलाई कर्फ्यू हटाइएको हो ।
दुर्गा मुर्ति परिक्रमा गर्ने क्रममा शुक्रवार साँझ जुुलुस माथि ढुङ्गा हानिएपछि भड्किएको विवादले उग्र रुप लिएपछि ३ दिनदेखि तनानग्रस्त कृष्णनगरमा आइतबार साँझ ५ बजेबाट अनिश्चितकालिन कर्फ्यू लगाइएको थियो । अवस्था सहज बन्दै गएपछि चार घण्टाका लागि कर्फ्यू हटाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएकाे छ ।
१२ बजेपछि अवस्था हेरेर कर्फ्यूलाई निरन्तरता दिने रनदिनेबारे निर्णय लिइने छ । पुर्वमा सेमरा गाउँ, पश्चिममा झण्डेनगर सिर्सिहवा चोक, उत्तरमा शिवानगरको बढया पोखरी क्षेत्र र दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रमा कर्फ्यू लगाइएको थियो । कर्फ्यू लगाएर मूर्ति स्थानीय सुरई खोलमा विर्सजन गरिएको हो ।