१७ असार २०८३, बुधबार

जलवायु परिवर्तनका कारण पग्लिन थाल्यो आर्कटिकको हिउँ, शहर पसे भालु

कात्तिक ५, २०७५
जलवायु परिवर्तनका कारण पग्लिन थाल्यो आर्कटिकको हिउँ, शहर पसे भालु

काठमाडौं — रुसको पूर्वमा रहेको तटीय शहर डिक्सनमा अहिले ध्रुवीय भालु (पोलर बीयर) को आतंक फैलिएको छ । खासमा जलवायु परिवर्तनका कारण आर्कटिकमा भारी मात्रामा हिउँ पग्लिरहेको छ । 

त्यसले गर्दा ६ वटा भालु हिमक्षेत्रबाट शहरी क्षेत्रमा घुसेका छन् । भोका शिकारी भालुहरूका कारण शहरका ५०० निवासी घरबाट बाहिर निस्कन डराइरहेका छन् । 

रुसका टेलिभिजन च्यानलहरूमा अहिले यी भालुहरूको आतंकको चर्चा छ । अधिकारीहरूले ६०० किलो तौल भएका र ४० किलोमिटर प्रतिघन्टाको गतिमा दौडिनसक्ने भालुहरूबाट बच्न मानिसलाई सल्लाह दिएका छन् । 

आर्कटिकमा हिउँ नपरुन्जेल भालुका आतंक कायम रहने अधिकारीहरू बताउँछन् । अर्थात् नोभेम्बर महिनाको अन्त्यसम्म शहरवासीले राहत पाउनेछैनन् । 

यही हप्ता अधिकारीहरूले घर र पसलमा घुस्ने कोशिश गरेको एक भालुलाई समातेर क्रास्नोयास्क शहरको चिडियाखाना पठाएका थिए । 

रुसका प्राकृतिक संसाधन मन्त्री एलेक्जेन्डर कोरोब्किन भन्छन्, ‘सामान्यतया ध्रुवीय भालु खानेकुरा भएको ठाउँमा झुम्मिन्छन् । यिनीहरू सधैं भोकै हुन्छन् । मानिसले खाने गरेको खाना यिनीहरूलाई खुबै मन पर्छ । त्यसैले यिनीहरू
कुनै घरबाहिर जम्मा हुन्छन् र लामो समयसम्म त्यहीँ बस्छन् । आफूवरपरको क्षेत्रमा पनि यिनीहरू कसैलाई आउन जान दिँदैनन् ।’

ध्रुवीय भालु समुद्रको हिउँमा बस्न मन पराउँछन् । तर लगातार बढिरहेको मानवीय गतिविधि, पग्लिरहेको हिउँ र शिकारका कारण उनीहरूको बस्ने ठाउँ कम हुँदै गइरहेको छ । हिउँको पग्लिँदो टुक्रोबाट अर्को टुक्रोमा जान नपाएर ६
वटा भालु शहरमा घुस्न थालेका हुन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्